हामी सिङ्गै नेपाललाई निरोगी बनाउन चाहन्छौँ - प्रधानमन्त्री ओली [भिडियो]
रोग निको पार्न सक्ने कुरा प्रकृतिमै निहित छ, औषधि पनि प्रकृतिमा खानामै निहित छ,यो खालि पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग लाग्छ र कुन चिजबाट यो रोगको अन्त्य हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
572
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासङ्कल्प भएको बताएका छन् । बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने सङ्कल्पसहित अघि बढिरहेको बताए । उनले नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको बताए ।
उनले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्त्वपूर्ण विषय रहेको बताए । उनले रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्ने कुराको खोजी गर्न जरुरी रहेको बताए । उनले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भए पनि पछिल्लो समय कम हुँदै गएको भन्दै गुनासो गरे । उनले आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘जुन पनि रोग लाग्छ, त्यसलाई निको पार्न सक्ने कुरा प्रकृतिमै निहित छ । औषधि पनि प्रकृतिमा निहित छ । खानामै निहित छ । यो खालि पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग लाग्छ र कुन चिजबाट यो रोगको अन्त्य हुन्छ । यसको प्रयोग परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढङ्गले निवारणको उपाय पत्ता लागेको छ । तर आयुर्वेद यसमा इफेक्टिभ छ र उहिलेदेखि आयुर्वेदको पनि सहारा लिने गरेको थियो । अहिले अलिकति कमजोर भएको छ । यसलाई टेडिसनल र आयुर्वेदिक औषधि विज्ञानको प्रोसेसलाई पनि विकास गर्दै, रिसर्च गर्दै उपचार विधिमा जान जरुरी छ । हामी निरोगी नेपालको महासङ्कल्पमा छौँ । निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासङ्कल्प हो । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ । पहिलो कुरा: नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति, अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य अवस्था कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । मान्छेको इम्युन सिस्टम नै कमजोर नहोस्, यसका निम्ति प्रयास गरौँ । खानपिन: पेट भर्ने मात्रै होइन, सन्तुलित खानपिन । र स्वास्थ्यका लागि उपयोगी, लाभदायी खानपिन हुनुपर्छ ।’