नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायो - दीपकबहादुर सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
429
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारको नीति तथा कार्यक्रममा विकासलाई भन्दा गणतन्त्र रक्षालाई प्राथमिकता दिएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कार्यक्रमबारे पक्ष र विपक्षी सांसदले धेरै कुरा भनिसकेको भन्दै सरकारले विकास निर्माण र योजनाहरू जसले मुलुकलाई लाभ दिन सक्छ त्यसतर्फ भन्दा व्यवस्था रक्षाका लागि ठूलो धनराशी खर्च गर्न लागेको महशुस भएको बताए । सांसद सिंहले प्रतिवाद गर्नुपर्ने कुराहरू रक्षात्मक तरिकाले आउँदा दुःख लागेको बताउँदै नीति तथा कार्यक्रम बनाउँदा सुरक्षा निकायमा जाने युवा र खेलाडीलाई जीवन यापनका लागि वेतन र सुविधाले बजेटमा स्थान पाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘नीति तथा बजेट कार्यक्रममा वास्तवमा भन्ने हो भने धेरै सांसदहरू पक्ष र विपक्षले पनि धेरै कुराहरू भनिसक्नुभएको छ । सरकारमा भएका मन्त्रीज्युहरु, सरकारका नजिक बसेका माननीयहरूले सहमति जनाउनु स्वाभाविक हो । बहुमतको सरकार छ । वास्तवमा भन्ने हो भने यो नीति तथा कार्यक्रममा गणतन्त्र रक्षाको लागि प्रतिवादको लागि जुन कारणहरू आएको छ त्यसमा पनि ठूलै धनराशी खर्च गर्ने रक्षाको लागि महशुस गरेको छु । यो नीति तथा कार्यक्रममा सरकारले नेपाली जनताले चाहेको कुरा राख्नुपर्थ्यो । विकास निर्माण र योजनाहरू जसले लाभ दिन सक्छ । तर, प्रतिवाद गर्ने कुराहरू, रक्षात्मक तरिकाले आउँदा नमिल्दो छ । यो नीति तथा कार्यक्रममा एक वर्षमा देशमा भएका जति पनि व्रम्हलुटहरु भएको छ त्यसको छिनोफानो हामी गर्छौँ भनेर भन्नुपर्थ्यो त्यो कतैबाट आएन । वास्तवमा भन्ने हो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा युवाहरु जानलाई हिचकिचाइरहेका छन् । निराश भइरहेका छन् । त्यो भन्दा पनि ज्यादा खाडी मुलुकतिर जान तम्सिरहेका छन् त्यो किन भइरहेको छ ? त्यसकारण यो सरकारलाई नीति तथा कार्यक्रम बनाउँदा सुरक्षा निकायमा जो–जो युवाहरु जान्छन् उनीहरूलाई पर्याप्त मात्रामा सुविधा दिनुपर्छ । तलब वृद्धि गर्नुपर्छ २४ घण्टा देश र जनताको सुरक्षामा खटिएकाहरू मामुली तलब सुविधाले घर खर्च चल्न सक्दैन । त्यसैले मूल्यवृद्धिसँगै तलबमानपछि बढाउन माग गर्दछु । खेलाडीलाई पनि जीवनयापनका लागि बजेटमा मौका दिनुपर्छ । नेपाल मात्र नभई विश्वभर मन पराईको क्रिकेट र फुटबलमा समेत सरकारले राजनीति गरेर बरबाद पारेको छ । त्यसको रोकथाम आवश्यक छ ।’