विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेट्न सकेन - कांग्रेस सांसद केसी [भिडियो]
सरकारले सबैलाई खुशी बनाउन खोजे पनि कोही खुशी नदेखिएको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
670
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा मुलुकको वास्तविक आर्थिक अवस्था नझल्किएको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई विधेयकमा समावेश नगरिएको बताए। सरकारले सबैलाई खुशी बनाउन खोजे पनि कोही खुशी नदेखिएको उनको भनाइ थियो। मुलुकको अर्थतन्त्र लगातार कमजोर बन्दै गएको भन्दै उनले सरकारलाई गम्भीर हुन आग्रह गरे।
उनले भने,‘जब मान्छेले सबैलाई खुसि बनाउन खोज्छ कोही पनि खुशी हुँदैनन् भनेजस्तो प्राथमिकता के हो भन्नेतिर केन्द्रित हुनुपर्छ । अहिले जुन खालको आर्थिक संकटापन्न, अहिलेको चुनौती र राष्ट्रिय यथार्थलाई चाहीँ मन्त्रीज्युले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नुभएको छैन । हामी अहिले अत्यन्त अप्ठ्यारो स्थितिमा छौं । हामीले जति राम्रो कुरा गरेपनि राष्ट्रको अर्थतन्त्रको स्थिति झन झन शिथिल हुँदै गएको अवस्था छ । र यो जटिल परिस्थितिमा बजेट तर्जुमा गर्नुपर्दा जो अर्थमन्त्री हुँदापनि चुनौतिपूर्ण हो र अपजसपूर्ण छ भन्नेमा कुनै विवाद छैन । मुलुकको कुल ग्राहस्थ उत्पादन र ऋणबीच समेत सन्तुलन कायम गर्न सकेका छैनौं ।’
सांसद केसीले यस्तो जटिल परिस्थितिमा बजेट बनाउनु चुनौतीपूर्ण हुने र ऋण तथा कुल गार्हस्थ्य उत्पादनबीच सन्तुलन कायम गर्न नसकिएकोमा सरकारको ध्यानाकर्षण गराए। उनले सामान्य प्रशासन धान्न र ऋणको ब्याज तिर्न पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस विषयमा गम्भीर भएर सोच्न अर्थमन्त्रीलाई आग्रह गरे।