योग्यताका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
658
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भने, “राष्ट्र बैङ्कमा मेरो कोही ल्याउनु छैन, ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान मान्छे ल्याउने हो, काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ, मेरो मान्छे भन्ने चाहिँदैन, म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन, त्यसैले सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्व दिन्छु ।”
प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिबाट प्राप्त प्रतिवेदनका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति भएको स्पष्ट गरे।
उनले एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको स्पष्ट गरे ।
प्रधानमन्त्रीले पूर्वयोजनाकारको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे । रासस