नेतृत्व परिवर्तनले विद्युत आपूर्तिमा समस्या आएको होइन - हितेन्द्रदेव शाक्य [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
737
Shares
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व परिवर्तनकै कारण विद्युत आपूर्तिमा कुनै समस्या नआएको दाबी गरेका छन्।
संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रबार देखिएको विद्युत अवरोधबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारे। विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस्ता समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताए। बत्ती जानुमा अहिले अन्य कुनै कारण नरहेको उनले दाबी गरे। समस्या आइसकेपछि गुनासो गर्नुभन्दा समयमै त्यसलाई सुधार्नुपर्ने उनको भनाइ थियो। समस्या पहिचान भइसकेको र त्यसलाई सुधार्न आफू लागिपरेको उनले बताए। प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा त्यसलाई लोडसेडिङ नै भयो भनेर हल्ला नफैलाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै उपायहरू प्रयोग गर्ने स्पष्ट पारे।
उनले भने, ‘पश्चिमको लाइन ट्रिप भएका कारणले करिब २ घण्टा विद्युत प्रसारण अवरोध भएको हो। करिब ८ बजे मात्र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन नियमित भएसँगै विद्युत आपूर्ति सहज भयो। त्यसैले ढल्केबर–मुजफ्फरपुर लाइन कति महत्वपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ। हामी भारतसँग निर्भर छौं भन्नु राम्रो त होइन तर यो तीन चार महिना उत्पादन नबढेसम्म हामी कमजोर हुँदा रहेछौं। भारतको बिजुली आएन भने यसले समस्या निम्त्याउँछ भन्ने देखाएको छ। हरेक पटक आउने समस्या समाधानका लागि ‘राइट म्यान, राइट प्लेस’ नै छ। तर, उत्पादन लगायतका पूर्वाधारमा जति लगानी भएको छ त्यस अनुसार काम हुन सकेको छैन। खिम्ति, बाह्रबिसे र लफ्सेफेदी सञ्चालनमा आउन नसक्दा केही समस्या पक्कै छ। तर पनि अन्डरग्राउण्ड अपरेशन सञ्चालनमा आएसँगै काठमाडौंमा समस्या आउँदैन। किनकि काठमाडौंमा हावाहुरी आयो काठमाडौंमा र तराईमा हावाहुरी आउँदा तराईमा समस्या आउने हो। हावाहुरी र पानीको समयमा सुख्खायाममा बसेका धुलोहरू पानीको समयमा सिपेज भएर ट्रिप हुने हुनाले पाँच सात दिन समस्या आउँछ। अन्य कारण केही छैन।’
उनले यस्ता सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्ने गरी काम भइरहेको बताए।