काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र कृषि तथा पशुपक्षी विकासमन्त्रीले सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र पूर्वाधार विकास समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए।
उता, राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभामा पेश गर्नेछन्। सरकारले नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले यो विधेयक ल्याएको जनाएको छ। साथै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। आजको राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि रहेको छ।