प्रतिनिधि सभामा हुम्लाको तिलगाउँका पहिरो पीडितको उद्धार गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
2.5k
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमताल फुटेर आएको पहिरोले जोखिममा परेका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लामाले पहिरोका कारण १८ परिवारका ३२ जना स्थानीय बासिन्दा नजिकैको बारीमा त्रिपालको भरमा बसिरहेको जानकारी सदनलाई गराए।
उनले पहिरो पीडितहरू अत्यन्तै अप्ठ्यारो र त्रसित अवस्थामा रहेको बताउँदै उनीहरूको तत्काल उद्धार, निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
सांसद लामाका अनुसार तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा परेका छन्। उनले हिमाल नजिकका बस्तीहरू दैवी प्रकोपको उच्च जोखिममा रहेकाले त्यसतर्फ विशेष ध्यान दिन सरकारसँग आग्रह गरे।