कांग्रेसभित्र असन्तुष्टि र छटपटाहट छ, अवसर पनि छ - गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
694
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहटको अवस्था रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित सुवास घिमिरेद्वारा लिखित विपी कोइरालाको जीवनीमा आधारित पुस्तक ‘सान्दाजु’को लोकार्पण समारोहमा बोल्दै महामन्त्री थापाले पार्टीभित्र देखिएको यो अवस्थालाई औंल्याएका हुन्। यद्यपि, उनले कांग्रेससँग एउटा अवसर पनि रहेको बताए। पार्टी अहिले संघ, प्रदेश र स्थानीय तहसम्म सरकारमा रहेको र आगामी प्रधानमन्त्री पनि कांग्रेसकै हुने अवस्था रहेको उनले उल्लेख गरे। तैपनि, गभर्नर जस्तो महत्वपूर्ण पदमा पनि कांग्रेसकै व्यक्ति हुँदा पनि पार्टीभित्र खुसीयाली नदेखिएको उनको भनाइ थियो।
महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरूले एउटा संकल्प गर्ने बेला आएको छ। नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ। उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ। तर म एउटा अवसर पनि छ भनिरहेको छु। नेपाली कांग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोक्रेटिक कुरा गर्यौँ। चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौँ। को उम्मेदवार बन्ने कुरा गर्यौँ। हामीले अहिले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले। हामी सबैतिर सरकारमा छौँ। हामी नभएको ठाउँ नै छैन। पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार। अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब सबै हाम्रो। अब गभर्नर हाम्रो, ऊ हाम्रो, जताततै हाम्रो। खुशी हुनुपर्ने नि त कांग्रेस त। सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त? हामीले खोजेको त्यो होइन रहेछ।’
महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताए। नेपाली समाजमा पनि एक प्रकारको उकुसमुकुस रहेको र बाहिर आउने जाने क्रम चलिरहने उनको भनाइ थियो। नेपाल बन्दैन भन्ने नकारात्मक सोचप्रति चिन्ता व्यक्त गर्दै उनले कांग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताए।