राजसंस्था पुनःस्थापना जनताको विश्वासबाटै हुन्छ, ब्यालेटबाट होइन : राजेन्द्र लिङ्देन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
531
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताएका छन्।
अध्यक्ष लिङ्देनले नेपालमा भएका कुनै पनि परिवर्तन ब्यालेट (मतदान) बाट नभएको बताए। उनले २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२, २०६३ का कुनै पनि परिवर्तनहरू ब्यालेटबाट नभएको उल्लेख गरे। उनले अहिले पनि आफूहरूले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको बताए। एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले भने, ‘नेपालमा भएका कुनै पनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन। २००७ सालको परिवर्तन पनि चुनाव भएर भएको होइन। २०१७ सालकै परिवर्तन पनि चुनावबाट भएको होइन। २०४६, २०६२, २०६३ का कुनै पनि परिवर्तनहरू ब्यालेटबाट भएका होइनन्। त्यसकारण हामीले अहिले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट होइन। जनताबाटै गर्ने भनेर हामीले निष्कर्षमा पुगेर अगाडि बढाएका हौँ। कतिपय साथीहरूले के भन्नुहुन्छ भने तिमीहरू संसदमा छौ, तिमीहरू यही संविधानमा भाग लिइरहेका छौ भनेर। यो हामीले आन्दोलन भने पनि जे भने पनि राज्यसत्ताको विरुद्ध लडाइँ शुरु गरेका छौँ। त्यो कसैलाई रिस उठे जस्तो, झोक चलेजस्तो। एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा होइन। तपाईंहरूलाई जति जोश चलेको होला त्यो भन्दा कम जोश मलाई के चलेको होला र? पाए त आजै फेरिदिनु हुन्थ्यो। आजै राजालाई ल्याएर मुकुटसहित नारायणहिटीमा भित्र्याऔँ भन्ने कुरा त मलाई के कम होला र? हामीले योजना र रणनीति भन्ने कुरा बिर्सिन हुँदैन।’
अध्यक्ष लिङ्देनले राजावादीहरू सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताए। उनले दलहरूसँगको सम्बन्ध बढाएर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने पनि बताए।