प्रतिनिधि सभा बैठक शुरु, गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा स्पष्टीकरण दिँदै [लाइभ]
विपक्षीले राजीनामा माग्दै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
903
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोपमाथि गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण दिँदैछन्।
गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोप लागेपछि चौतर्फी रूपमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग उठिरहेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठकले लेखकलाई सफाइ दिए पनि, कांग्रेसका केही नेताहरूले पनि नैतिकताका आधारमा लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।
यता, गृहमन्त्री लेखकले आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताउँदै आएका छन्। विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामाको माग संसदमा उठाउने तयारी गरेका छन्।
आजको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि पेस हुने कार्यक्रम छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ।