भिजिट भिसाको बाछिटा, प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
2.3k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
आजको बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतले बैठक अवरोध गरेका हुन् ।
विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध गरेका थिए । त्यसपछि दुईपटक सूचना जारी गरी बैठक सारिएको थियो ।
सभामुख देवराज घिमिरेले सत्तारूढ र प्रतिपक्षी दलहरूबीच सहमति कायम गरी संसद्को अवरोध खुलाउन प्रयास गरे पनि सफल भएनन् । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रश्नको जवाफ दिने तयारी भए पनि विपक्षी सांसदहरुले रोकेका थिए ।