गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता कार्यान्वयनमा कांग्रेस दृढ - देउवा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
470
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। उनले यी उपलब्धिहरू कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक सफलता भएको पनि स्पष्ट पारे।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको बागमती प्रदेशस्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्।
सभापति देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै थप प्रगतिशील बनाउन कांग्रेस क्रियाशील रहने बताए। उनले आदिवासी जनजाति लगायतका समुदायका चाडपर्वलाई राष्ट्रिय पहिचान दिने कार्यको सुरुवात आफ्नो नेतृत्वको सरकारले गरेको स्मरण गराए।
आदिवासी जनजाति समुदायको पुस्ताजन्य परम्परागत ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ थियो। उनले संविधानमा व्यवस्था भएका आदिवासी जनजाति आयोग, थारु आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्रोतसाधन सम्पन्न बनाउन कांग्रेस सचेत रहेको पनि उल्लेख गरे।
देउवाले नेपाली कांग्रेस आदिवासी जनजातिहरूको सशक्तिकरणका लागि सधैँ क्रियाशील रहेको दोहोर्याए।