बजेटका लागि मात्रै संसद चल्न दिने विपक्षीको घोषणा, उच्चस्तरीय छानबिन नभएसम्म आन्दोलन जारी [भिडियो]
सरकार कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोप, गृहमन्त्री रमेश लेखकको राजीनामाको माग
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
607
Shares
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्न मात्रै दिने भएका छन्। उनीहरूले सरकार कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोपसमेत लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकको प्रारम्भमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सो जानकारी गराएका हुन्। उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूको आन्दोलन जारी रहने बताए। पाण्डेले विचौलियामार्फत निर्माण भएको वर्तमान सरकार कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोपसमेत लगाए।
"हामीले संविधानअनुसार जेठ १५ गतेको दिनलाई विशेष व्यवस्था गरेका छौँ," पाण्डेले भने, "प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेकोले हामी जिम्मेवारीपूर्वक आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने विषयवस्तु, संयुक्त अधिवेशनमा माननीय अर्थमन्त्रीज्यूले विनियोजन विधेयकसँगै बजेट प्रस्तुत गर्ने विषयवस्तुका लागि मात्रै हामीले सदनलाई अगाडि बढाउन दिएका छौँ। त्योबाहेक अरू कुनै पनि काम अगाडि नबढाउने कुरा हाम्रो छ। हाम्रो आन्दोलन जारी छ।"
उनले वर्तमान सरकारले भ्रष्टाचारमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्नुको सट्टा कुशासन र भ्रष्टाचारलाई मलजल गरिरहेको आरोपसमेत लगाए।