arrow

काउन्टर राजतन्त्र

पृथ्वीनारायण शाहमाथि ओलीको टिप्पणी -'पृथ्वीपथले मारकाट सिकाउँछ,पुरानो बाटोले पोखरा मात्रै पुर्याउँछ' [भिडियो]

एकीकरणको समय र पृथ्वीनारायण शाहको विचार त्यतिबेला ठिकै भए पनि अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
oli-17.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले 'पृथ्वीपथ' ले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने बताए।

प्रधानमन्त्री ओलीले पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गर्दै, अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, सबै जाति जनजातिलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने र लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताए। उनले आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिनेमा जोड दिए। राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

"राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले। अहिले आएर यतिबेला पृथ्वीपथ अरे। पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि," ओलीले भने, "ढाई सय वर्षअघिको कुरा ल्याएर देशको विकास? देशलाई एकताबद्ध बनाउनु छ। पृथ्वीपथले एकताबद्ध? मारकाट गरेर एकताबद्ध गर्ने?"

उनले एकीकरणको समय र पृथ्वीनारायण शाहको विचार त्यतिबेला ठिकै भए पनि अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासमा अगाडि बढ्नुपर्ने र लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथको कुरा गर्नु 'कति पुरातनपन्थी' भएको प्रश्न गरे।

ओलीले 'पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए?' भन्दै, 'राजर्षी जनक पथ, यलम्बर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्लपथ' जस्ता विभिन्न पथहरू इतिहासका कुरा भएको र आजका आवश्यकताअनुसारका विचार र नीति चाहिने बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले तेह्रौँ सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको बताए। "१३ औं सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वीपथ। राजा हुने युक्ति अहिले पनि," उनले भने, "आजको समय राजा, रजौटा, तानाशाहहरूको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकीकरणको समय हो। हामी त्यतै जाँदैछौँ।"

उनले पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने कुरा गरेको र त्यसपछि पनि अनेकौँ रजौटाहरू मासेको इतिहासलाई उल्लेख गर्दै, त्यतिबेला मास्नु र एकीकरण गर्नु उद्देश्य भए पनि अहिलेको उद्देश्य राष्ट्र जोगाउनु र एकताबद्ध बनाउनु रहेको बताए। उनले इतिहासका उद्देश्य, विचार, समय र परिस्थिति अहिले नमिल्ने स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ