महासचिव भुषालको आरोप: 'पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम छ'
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
530
Shares
ललितपुर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेपालमा अहिले पार्टीहरू पञ्चायत जस्ता भएको र नेताहरूको 'राजतन्त्र' कायम रहेको भन्दै गम्भीर आरोप लगाएका छन्। गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र कायम रहन नसक्ने उनको भनाइ छ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले देश र जनताको हितमा काम गर्नुको सट्टा नेताहरू धन कमाउने कुरामा मात्रै केन्द्रित भएको आरोप लगाए। लोकतन्त्रमा राजनीतिक दलहरूमा सुधार नआएसम्म वास्तविक परिवर्तन सम्भव नहुने उनले औंल्याए।
महासचिव भुसालले राणाकालीन भारदारहरू र वर्तमानका नेताहरूबीच कुनै खास फरक नभएको टिप्पणी गरे। उनले गणतन्त्रका नेताहरूको विलासी जीवनशैली र व्यवहारमा सुधार नआएसम्म देशको 'दूरदिन' अझै लम्बिने बताए।
"भारदारहरू र हाम्रा नेताहरू साँच्चै फरक छन् भन्न सक्छौँ र?" भुसालले प्रश्न गरे, "म गणतन्त्रवादी हुँ, तर मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन। उनीहरूको बस्ने कुर्सी, हिँड्ने तरिका, भेटघाट, रातिको भेटघाट, सम्पत्ति — साँच्चै कति फरक छ?"
उनले गणतन्त्रवादीहरूले नैतिकताका साथ 'हामी भारदारहरूभन्दा फरक छौँ' भनेर भन्न नसकेकोमा चिन्ता व्यक्त गरे। "यदि यो (समस्याको जड) नखोज्ने हो भने, बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन्। दूरदिन अझै लम्बिएर जान्छ," उनले भने। भुसालले अहिलेका पार्टीहरू पञ्चायत जस्ता भएको र नेताहरूको राजतन्त्र कायम रहेको भन्दै, 'गणतन्त्रको एउटा स्टिकर टाँसेर मात्रै नहुने' बताए।