arrow

पार्टी बचाउन अराजनीतिक कदम चाल्नुपर्‍यो: प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
kp-oli-15.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कालमा पार्टीलाई बचाउन केही अराजनीतिक कदम चाल्नुपरेको बताएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का केही नेताहरूलाई पार्टी विभाजन गराएको आरोपसमेत लगाएका छन्।

ओलीले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गरे। उनले तत्कालीन समयमा कुन कदम अराजनीतिक थियो भन्ने कुरा भने स्पष्ट पारेनन्।

प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर 'एकीकृत' बनाउने भन्दै टिप्पणी गरे। उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर 'फुस्रो नारा' दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाए।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गरेको आरोप लगाए। उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर असंवैधानिक कदम चालेको आरोप लगाए।

ओलीले भने, "नेकपा एमाले सिध्याउने देशी, विदेशीको एउटै उद्देश्य थियो। त्यसमा नसकेपछि त्यसको वाहक पार्टीभित्रकै नेता भएनन्। प्रचण्ड नै हो पार्टी फुटाउने। सभामुख भएर गर्नसम्म गर्ने तिनै अग्नि सापकोटा हुन्। असंवैधानिक ढंगले चल्ने। यिनीहरू नै त हुन् नि। माधव नेपाल, झलनाथ खनाल।"

प्रधानमन्त्री ओलीले नेपालीहरू विभाजित हुन नहुने बताउँदै, विभाजनको समस्या कार्यकर्ता तहबाट नभई शीर्ष नेतृत्वबाट आएको संकेत गरे। "पहिला पनि तल कार्यकर्ताबाट समस्या परेको होइन, मञ्चासिनहरूबाट परेको हो," उनले भने, "छेउमा बस्ने अध्यक्ष, पार्टी नफुटाइ नसक्ने। अर्को पूर्वअध्यक्ष, अर्को एकल अधिकार सम्पूर्ण भएका बेलाको १५ वर्षको महासचिव। अर्को उपमहासचिव, उपाध्यक्ष, अर्को उपाध्यक्ष, अर्को स्थायी कमिटी सदस्य।"

उनले कहिलेकाहीँ साइनो, छिमेकी वा साथीभाइको नाताले पनि 'वचन हार्न नसक्दा' अराजनीतिक कदम चालिने गरेको स्वीकार गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ