विभिन्न माध्यमबाट रोगका किटाणुहरू हड्डी र हड्डी भित्रको मासिमा पुगेर संक्रमण हुने अवस्थालाई हड्डीको संक्रमण अथवा ओस्टियोमाइलाइटिस भनिन्छ । शरीरका विभिन्न अंगहरूमा संक्रमण भएको हामीहरूले सुनेका छौँ । जस्तो कि फोक्सोमा हुने इन्फेक्सनलाई निमोनिया, पिसाबमा हुने इन्फेक्सनलाई युरिनरी ट्रयाक इन्फेक्सन (यूटीआई), आन्द्रामा हुने संक्रमणलाई ग्यास्ट्रो इण्टेराइटिस, मुटुमा हुने संक्रमणलाई कार्डाइटिस भनिन्छ ।
शरीरका विभिन्न अंगहरूमा हुने संक्रमणमा आ-आफ्नै प्रकारका जटिलताहरू हुन्छन् । हड्डीमा एकपटक संक्रमण भैसकेपछि रोगका किटाणुहरू लामो समयसम्म हड्डी भित्र बस्न सक्ने भएका हुनाले हड्डीको संक्रमण सजिलोसँग निको नहुने मात्र नभएर यसले दीर्घकालीन रुपमा बिरामीलाई अपाङ्गता पनि बनाउन सक्छ।
ओस्टियोमाइलाइटिस हुने कारणहरूः
ओस्टियोमाइलाइटिस विशेषतः ब्याक्टेरियाको संक्रमणले हुन्छ । त्यसमा पनि ६० - ७० प्रतिशत केसमा स्टाफाइलोकोकस औरस भन्ने ब्याक्टेरियाले गराउँछ। शरीरको प्रतिरक्षा क्षमता, हड्डीको बनावट र शरीरमा रगत बग्ने तरिकाको कारणले बच्चाबच्चीहरूमा हड्डीको संक्रमण वयस्क मानिसहरूमा भन्दा बढी हुन्छ ।
रोगका किटाणुहरू कसरी हड्डीभित्र प्रवेश गर्छन् भन्ने प्रश्न महत्वपूर्ण छ । शरीरको कुनै अंगमा संक्रमण भएमा जस्तो कि पिलो आएमा, छातीमा इन्फेक्सन भएमा वा पिसाब मा इन्फेक्सन भएमा त्यहाँ भएका किटाणुहरू रगतको माध्यम हुँदै हड्डीभित्र प्रवेश गर्छन् । चोटपटक लागेर छाला र मासुमा घाउ लागेमा पनि किटाणुहरू हड्डीभित्र प्रवेश गर्न सक्छन् । कहिलेकाहिँ हड्डीको अपरेशन गर्ने क्रममा हड्डीभित्र इन्फेक्सन भएर पनि ओस्टियोमाइलाइटिस हुन सक्छ ।
हड्डी संक्रमणका लक्षणहरूः
सामान्यतया मांसपेशी र हड्डीमा संक्रमण भएको छुट्टाउन गाह्रो पर्दछ। दुवै अवस्थामा संक्रमण भएको भाग रातो देखिने, छुँदा तातो महसुस हुने, सुन्निने हुन्छ । बिरामीलाई ज्वरो आउन सक्छ । हड्डीमै संक्रमण भएको अवस्थामा बिरामीलाई दुखाइको मात्रा अत्यधिक बढी हुन्छ । संक्रमण भएको अंग छामेर हेर्दा दुखाइ मांसपेसीमा नभएर हड्डीमा हुन्छ र ज्वरोको मात्रा अत्यधिक हुन्छ ।
२४ घण्टामा ज्वरो विरलै सामान्य अवस्थामा आउँदछ। बिरामीको अवस्था निकै नाजुक हुन्छ । जुन कुरा मांसपेसीको संक्रमणमा हुँदैन। यो रोगको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने शुरुकै अवस्थामा हड्डीको संक्रमण हुन सक्छ भनेर शंका गर्ने अनि बिरामीलाई सम्बन्धित सेन्टरमा रिफर गर्ने वा आफूले काम गर्ने अस्पतालमा सबै सुबिधाहरू उपलब्ध छन् भने उपचारको प्रक्रिया अगाडि बढाउने । तर एउटा कुरा के प्रस्ट छ भने बिरामीलाई अर्थोपेडिक डाक्टरले हेरेको हुनु पर्दछ।
हड्डीको संक्रमण कसरी पत्ता लगाउने ?
माथि उल्लेख गरिएका बिरामीलाई देखिने लक्षणहरू नै हड्डीमा संक्रमण भएको हुनसक्ने महत्वपूर्ण आधारहरू हुन् । यी लक्षणहरूको आधारमा हड्डीमा संक्रमण हुन सक्छ भनेर एमआरआई गराउँदा हड्डीमा संक्रमण भए वा नभएको प्रमाणित हुन्छ ।
त्यसकारण हड्डीमा संक्रमण भएको शुरूकै अवस्थामा पत्ता लगाउने महत्वपूर्ण जाँच भनेको एमआर आई नै हो । यो बाहेक रगतको जाँच गर्दा सीआरपी, ईएसआर र रक्त कोसिकाको मात्रा निकै बढेको पाइन्छ । संक्रमण भएको १० देखि १५ दिन पछाडि जुन समयमा हड्डी बिग्रिसकेको हुन्छ, त्यो बेलामात्र एक्सरेमा हड्डीको संक्रमण देखिन्छ ।
त्यसकारण एक्सरेको आधारमा मात्र हड्डीमा संक्रमण छ वा छैन भनेर मूल्यांकन गर्नु हुँदैन किनभने शुरूको अवस्थामा एक्सरेमा केही देखिँदैन । बिरामीको रगत निकालेर कल्चर गर्दा ३० प्रतिशत बिरामीहरूमा रगतमा ब्याक्टेरिया देखिन सक्छ र त्यो अनुसार एण्टिबायोटिक्स दिन सकिन्छ ।
उपचार विधि
२४ देखि ४८ घण्टाभित्र हड्डीमा संक्रमण छ भनेर पत्ता लगाउन सकेमा वा हड्डीमा पिप नजमिसकेको अवस्थामा उपयुक्त एण्टिबायोटिक्स नसाबाट दिएर पनि हड्डीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।
जुन कुरा धेरै जसो अवस्थामा सम्भव नहुन सक्छ किनभने बिरामीहरू अर्थोपेडिक डाक्टरकोमा आउने समयनै ४ वा ५ दिन भन्दा बढी भैसक्छ । ४८ घण्टा भन्दा बढी भएमा हड्डीमै पिप जम्ने प्रक्रिया शुरू हुन्छ । जुन अवस्थामा अपरेशन नै गर्नु पर्ने हुन्छ।
अपरेशनको माध्यमबाट हड्डीमा सानो प्वाल बनाएर भित्रको पिपलाई बाहिर निस्कने वातावरण बनाएमा यो समस्यालाई समाधान गर्न सकिन्छ । यो रोगको अति नै महत्वपूर्ण पक्ष भनेकै शुरूको अवस्थामा हड्डीमा संक्रमण छ भन्ने कुरा पत्ता लगाएर शुरूकै अवस्थामा अपरेशन गर्न सकियो भने यो समस्याबाट हुने धेरै ठूला जटिलताहरूबाट बच्न सकिन्छ ।
हड्डी संक्रमणका जटिलताहरूः
हड्डी संक्रमण भएर धेरै नै ज्वरो आएको अवस्थामा बिरामीहरू सेप्टिसेमिआ भन्ने गम्भीर समस्यामा पुग्न सक्छन् । यो अवस्था भनेको संक्रमण हड्डीबाट फैलिएर रगत हुँदै विभिन्न अंगहरूमा पुग्नु हो । यो अवस्थामा पुगेमा बिरामीहरूका महत्वपूर्ण अंगहरूले काम गर्न छोडछन् र बिरामीको मृत्युसम्म हुन सक्छ ।
समयमै रोग पत्ता नलागेर उपचार ढिलो शुरू भएमा रोगका किटाणुहरू (ब्याक्टेरिया ) लामो समयसम्म हड्डीमा बस्न सक्छन र कुनै पनि समयमा फेरि हड्डीको संक्रमण हुन सक्छ । एकपटक हड्डीमा इन्फेक्सन भएपछि हड्डी पलाउन निकै समय लाग्छ ।
त्यसकारण हड्डी सजिलैसँग भाँचिन सक्छ । एकपटक हड्डी भाँचिएपछि संक्रमण भएको अवस्थामा जोडिन निकै गाह्रो हुन्छ। यस्तो बेलामा हड्डी जोडिनका लागि धेरै पटक अपरेशन गर्नु पर्ने हुन सक्छ ।
यसले बिरामीको आर्थिक र मानसिक समस्यालाई झन् जटिल पार्दछ । पढ्ने उमेरका बच्चाबच्चीहरूलाई यो समस्या भएमा उनीहरूको शैक्षिक वातावरणलाई पनि निकै असर गर्दछ ।
यो समस्या समाधान हुनको लागि वर्षौं पनि लाग्न सक्छ । बिरामीहरू स्थायी रुपमा अपाङ्गता भएर जीवनभरि काम गर्न नसक्ने अवस्थामा पुग्न सक्छन् । एक प्रतिशतभन्दा कम केसमा हड्डीको संक्रमण लामो समयसम्म रहेमा क्यान्सरमा पनि परिणत हुन सक्छ ।
यी सबै जटिलताहरूबाट बच्ने एउटा मात्र महत्वपूर्ण तथ्य भनेको शुरूकै अवस्थामा हड्डीमा संक्रमण भएको पत्ता लगाएर उपचार गर्नु नै हो । (अमेरिकाबाट एफएसीएस तथा बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन्)