जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी र ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको एकैपटक शिलान्यास गरेका छन्। मधेस प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत यी आयोजनाहरूको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारले ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार र स्तरोन्नतिका लागि भएको यो शिलान्यासलाई ऐतिहासिक एवं गौरवको क्षणका रूपमा लिएको छ। प्रदेश सरकारले प्रधानमन्त्री ओलीप्रति यस कार्यका लागि धन्यवाद व्यक्त गरेको छ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार, अब मधेस प्रदेशका आठवटै जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण गरिनेछ। कालोपत्रसहितको यो सडक निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसका लागि कुल १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले योजनाका लागि स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको बताए। उनले आजको शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिने विश्वास व्यक्त गरे।
मन्त्री यादवका अनुसार, यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, र बाँकी भागको काम तीव्र रूपमा अघि बढाइनेछ।
निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ। सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणका लागि पनि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ। साथै, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र उपायहरूको प्रयोग गरिने भएको छ।
यो योजनाले मधेस प्रदेशमा सडक पहुँच नभएका गाउँहरूलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग पुर्याउने मन्त्री यादवले बताए।