प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा प्रवेश गर्नेमा अनिश्चितता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
1.9k
Shares
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे बस्ने गरी समय निर्धारण भएको छ। यद्यपि, ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्नेमा अनिश्चितता कायम छ।
गत जेठ १३ गतेदेखि लगातार प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक-पटक सहमतिका लागि दलहरूबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची पनि रहेको छ।
प्रमुख विपक्षी दललगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।