काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन्। तर बैठक कार्यसूचीमा प्रवेश गर्ने टुङ्गो छैन । गत दुई सातादेखि प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिपक्षले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
यदि बैठक अगाडि बढे सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नेछन्।
बैठकको मुख्य कार्यसूचीमध्ये एक, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यससँगै, आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।