गृहमन्त्रीद्वारा भिजिट भिसा प्रकरणमा संलग्नता अस्वीकार, अख्तियारको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता [भिडियो]
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन - गृहमन्त्री लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
544
Shares
काठमाडौँ। तत्कालीन गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र हुन नसक्ने दाबी गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन्।
उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गरेका थिए। मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि स्पष्ट पारेका थिए। उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे।
"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचारप्रसार, समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन," उनले भने, "उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। मेरा विरुद्धमा नियोजित ढङ्गले, षड्यन्त्रमूलक ढङ्गले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहन्छु। र म साथीहरूलाई आग्रह गर्न चाहन्छु—संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनै पनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो? त्यसको तागत साथीहरूसँग छ?"
सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखिरहेका थिए। माओवादी संसदको गतिरोध अन्त्य गर्न तयार भए पनि रास्वपा र राप्रपा अझै सहमत थिएनन्। उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका थिए। दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाएका थिए।