arrow

दुम्जा कला यात्रा २०७३

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
dumja-kala.jpeg
दुम्जा (सिन्धुली) । ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित छ दिने (पुस २४ देखि २९ गते) दुम्जा कला यात्रा २०७३ सम्पन्न भएको छ ।कलाकार सुरेम देशारको संयोजकत्वमा पाँच जना कलाकारहरु कलायात्रा सहभागी थिए । कठिन भौगोलिक अवस्थाबीच पनि सफलतापूर्वक कलायात्रा सम्पन्न भएको संयोजक देशारले जानकारी  दिए ।
 
धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित यो कला यात्रामा सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, सुरेन्द्रराज अधिकारी र राजेन्द्र देशार सहभागी थिए । मूर्तिकार राजेन्द्र देशारले सरस्वतीको मूर्ति निर्माण गर्नुभएको थियो भने अन्य कलाकारले कुशेश्वर दुम्जाको विभिन्न भागमा पुगी प्राकृतिक सौन्दर्य, भूकम्पपछिको जनजीवन, दैनिकी, अवस्था, जनजीवनलगायत विषयमा १६ वटा चित्रकला तयार पारेका थिए । 
 
कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट सुरु भएको कलायात्रा रुपटार, ध्याम्पाटार, बसेरी, ओख्रेनी, दोभानडाँडा, काफ्लेचौर, ओध्रेकोट, हायूगाउँ, ज्यामिरे, सिमलचौर, दारिमबोट, उपल्लाथोक, माझथोक, पानीपोखरी, आँपघारीमा पुगेर सम्पन्न भएको थियो । 
 
कलायात्राका क्रममा कलाकारहरुले देवीस्थान माध्यमिक विद्यालय, जनजागृत प्रावि, पञ्चकन्या निमावि, कुशेश्वर  विद्यापीठ माविमा पुगेर विद्यार्थीसँग कलाबारे अन्तरक्रिया गर्नुभएको थियो । त्यस्तै, गाउँगाउँमा चित्रकलाको प्रदर्शनगरी कलाकारहरुले गाउँलेसँग कलाबारे छलफल गर्नुभएको थियो । 
 
सो चित्रकला माघ २४ गते जागरणकवि धरणीधर कोइराला जयन्तीका दिन दुम्जामा नै प्रदर्शन गरिने धरणीधर स्मृति पुस्तकालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ