संसदमा आन्दोलनका बीच बैठक चलाइएकोमा राप्रपाको आपत्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
703
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधका बीच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन्। उनले यस कार्यलाई संसदीय अभ्यास विपरीत र 'दादागिरी' भएको आरोप लगाएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले संसदमा आन्दोलन भइरहँदा बैठक सञ्चालन गर्नु उचित नभएको बताएका हुन्। उनले सत्तापक्ष र प्रतिपक्ष दुवै जनताले जिताएका जनप्रतिनिधि भएको भन्दै भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने मागमा सबैले साथ दिन आग्रह गरे।
प्रमुख सचेतक शाहीले भने, "संसदमा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु उचित हुन्छ? उचित हुँदैन भन्ने मलाई लाग्छ। उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस्। यसरी संसद चलाउनु संसदीय अभ्यास होइन। यो दादागिरी हो। दादागिरी बन्द गर्नुस्।"
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ देखि संसद अवरोध गर्दै आएको छ। आजको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्। यद्यपि, रास्वपाको विरोधका बीच सभामुख देवराज घिमिरेले संसदलाई अगाडी बढाएका छन्।