arrow

प्रतिनिधि सभा

रास्वपा सांसदको निलो ‘स्काफ’ माथि कांग्रेसको नियमापत्ति: सभामुखबाट कारबाही माग [भिडियो]

आधा घण्टाका लागि बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
shayamsss.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद् बैठकमा निलो ‘स्काफ’ लगाएर नाराबाजी गरेपछि नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ।

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाएका हुन्। उनले संसद्मा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरे। उनले भोलिका दिनमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गरे।

घिमिरेले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए।

उनले भने, "यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ। यो नियमावलीमै गरिएको व्यवस्था हो। यो संसद्मा अहिले केही मान्य सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन? यसरी भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु।"

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै उनको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले गत जेठ १३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएका छन्। मङ्गलबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ