arrow

दुवै सदनको बैठक बस्दै : विनियोजन विधेयकमाथि छलफल, रास्वपाको अवरोध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं। संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि तोकिएको छ।

प्रतिनिधि सभाको बैठकमा आज विनियोजन विधेयक, २०८२ माथि छलफल प्रारम्भ हुनेछ। बैठकको सम्भावित कार्यसूचीअनुसार वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहगत रूपमा छलफल हुनेछ। विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन्। रास्वपाका नेताहरूले माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम रहने बताउँदै आएका छन्।

राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका  सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्छन्। राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्छन्।

बैठकले संविधान सभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधि सभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्नेछ।

प्रतिनिधि सभाको अवरोधका कारण आजको छलफल कसरी अघि बढ्छ, त्यो हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ