योगको सम्बन्ध इजरायल र इरानबीच चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित छ - ओली
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
832
Shares
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै योगको सम्बन्ध अहिले इजरायल र इरानबीच चलिरहेको द्वन्द्वको अन्त्यसँग जोडेका छन्। उनले योगको मूल भावना संसारमा शान्ति स्थापना होस् र फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग सम्बन्धित रहेको बताए।
प्रधानमन्त्री ओलीले योगको सम्बन्ध परलोकसँग नभई यही लोक, मानव जाति र समाजसँग रहेको जिकिर गरे। उनले यम र नियम (योगका नैतिक सिद्धान्तहरू) पालना नगरी जति नै आसन र प्राणायाम गरे पनि त्यो समाजका लागि फाइदाजनक नहुने बताए।
"योगका यदि यम नियम मानिँदैन भने जति आसन गर्नुस्, प्राणायाम गर्नुस्, आफ्ना लागि त होला, समाजका लागि हुँदैन, समाजमा व्यक्तित्व बन्दैन," ओलीले भने, "ध्यानले मात्र पुग्दैन। कर्मयोग र कर्मठ योगबिना हामीले ध्यान मात्रै गर्ने हो भने काम छैन।"
ओलीले इजरायल र इरानबीचको युद्धलाई 'मान्छे मारामार' को अवस्था भन्दै यसलाई विश्वका लागि सबैभन्दा नराम्रो कुराको संज्ञा दिए। उनले भने, "युद्ध मान्छे मारामारको अवस्थालाई भनिन्छ, साँढे जुधाईलाई युद्ध भनिँदैन। मान्छे मारामार भन्दा नराम्रो कुरा के हो? अरु केही हुनसक्छ? त्यही भइरहेको छ। दाउपेच भइरहेको छ। कसले धेरै मार्ने भनेर?" उनले हाल विश्वमा 'ग्लोबल अर्डर' को नाममा एउटा देशका राष्ट्रपतिले अर्को देशका नेतालाई 'मार्छु' भन्ने जस्ता कुरा सुन्न थालिएकोमा चिन्ता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सबैलाई हात, पाउ खियाएको जिन्दगी बाँच्न र आफ्नो आचरण तथा यम नियममा ध्यान दिन सुझाव दिए। उनको भनाइले योग केवल शारीरिक अभ्यास नभई सामाजिक सद्भाव र विश्व शान्तिको प्रतीक पनि हो भन्ने सन्देश दिएको छ।