गगन थापाको प्रस्ताव: तीन दशकका जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गरौँ [भिडियो]
भ्रष्टाचार र अनियमितताविरुद्ध स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी) को भरोसा जित्न नसकिने
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
1.2k
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्। आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न आग्रह गरे।
महामन्त्री थापाले भ्रष्टाचार र अनियमितताविरुद्ध स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी) को भरोसा जित्न नसकिने बताए। उनले कुनै पनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्नेमा जोड दिए।
"२०४६ सालको आन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको हो। नेपाली कांग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मेवारी लिएका छौँ," थापाले भने, "वितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानबिन आयोग बनाऊँ। देशले पत्याएको पूर्वन्यायाधीश छानौँ। निष्पक्ष काम गर्ने मान्छे छानौँ। यस्तो मान्छे छानौँ कि त्यो एमाले, कांग्रेस, माओवादी केही पनि नहोस्।"
उनले छानबिनका क्रममा ज–जसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गरे मात्र जेन–जी पुस्ताले आफ्ना कुरा सुन्ने जिकिर गरे। नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको पनि उनले उल्लेख गरे।
थापाले विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरूलाई परिवारका लागि कमाऊ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको जिकिर गरे। यो नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो।