arrow

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
oli-radhika-plane-82-3-14.jpg

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। उनी आज दिउँसो ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना तथा प्रसारण विभागले जनाएको छ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेद्रो सान्चेज लगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। यसका साथै, इस्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटवार्ता भएको थियो।


प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए। उनी विभिन्न छलफल सत्रमा पनि सक्रिय सहभागी भएका थिए। विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलका अतिरिक्त अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो।

बिहीबार उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका थिए। साथै, स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग पनि छलफल गरेका थिए। केही बेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ