प्रतिनिधि सभा बैठक बस्दै , यस्तो छ सभाको कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
2.1k
Shares
काठमाडौं। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेर विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ र त्यसपछि मन्त्री अधिकारीले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।