स्वर्णिम वाग्लेमाथि छानबिन गर्न कांग्रेस प्रमुख सचेतकको माग [भिडियो]
’राष्ट्रद्रोह र राज्यप्रति घृणा फैलाउने कुरा सह्य छैन’: कांग्रेस प्रमुख सचेतक घिमिरे
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
533
Shares
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनै पनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैलाउने विषयलाई क्षमा दिन नसकिने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गम्भीर आरोप लगाए।
प्रमुख सचेतक घिमिरेले रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले ’मुनरो डक्ट्रिन’ को व्याख्या गरेको भन्दै यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने बताए। उनले नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भएको जिकिर गर्दै, "के प्रसंगमा मुनरो डक्ट्रिनको व्याख्या नेपालको सन्दर्भलाई जोडेर गर्नुभएको हो? त्यो कुराको व्याख्या माग गर्दछु।" सदनको सदस्यले यस्तो अभिव्यक्ति दिँदा सरकार किन बेखबर भएको भन्दै उनले प्रश्न गरे। यदि सरकारलाई सूचना भए, राष्ट्रद्रोहको गम्भीर अपराधमा सरकार किन मौन बसेको भन्दै उनले यसबारे छानबिन गर्न माग गरे।
घिमिरेले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदूतसँगको भेटमा नेपाल पनि भारतकै स्वायत्तताका रूपमा रहेको र नेपालले भारतले भनेको मान्नुपर्ने कुरा गरेको राष्ट्रिय टेलिभिजनमै भनेकाले यसबारे पनि गम्भीर बन्नुपर्ने बताए।
प्रमुख सचेतक घिमिरेले रास्वपाले मानव बेचबिखनको रट लगाएर अघि बढेकोमा आपत्ति जनाए। उनले भिजिट भिसा दुरुपयोगको सन्दर्भमा गृहमन्त्री रमेश लेखकको भनाइलाई समर्थन गर्दै, "माननीय गृहमन्त्रीले एउटा कुरा भन्नुभयो, भिजिट भिसामा सबै मान्छेहरू जान्छन्। स्वयं उहाँहरुकै अध्यक्ष रवि लामिछाने भिजिट भिसामै अमेरिका जानुभएको हो। भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनुभएको हो।" उनले यो अभ्यास कानुनसम्मत नभए पनि लामो समयदेखि चल्दै आएको स्वीकार गर्दै, "त्यसलाई बहाना बनाएर जुन हिसाबले संसद बहिष्कार र लाञ्छित गर्ने काम भइरहेको छ, यो सरासर आपत्तिजनक छ," भने।
अन्तमा, प्रमुख सचेतक घिमिरेले रास्वपाले वर्तमान संविधान परिवर्तन गर्न चाहन्छ वा हुबहु स्वीकार गर्छ भन्ने स्पष्ट जवाफ पनि मागे।