प्रधानमन्त्री ओलीद्वारा झापामा मदनडाँगी–ताराबारी–डिपु सडक उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
569
Shares
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन्।
विश्व बैंकको सहयोगमा निर्माण भएको यो सडक दमक नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको छ। नेपालभरबाट छानिएका १७ सडकमध्ये यो एक हो। ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४.८६ किलोमिटर लामो यो सडक समयमै सम्पन्न भएको एक नमुना आयोजना मानिन्छ।
सडक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले देशभर भइरहेका विकास निर्माणको नमुनाका रूपमा यो सडक रहेको जनाउँदै मेची महाकालीसम्म थालेका कामहरू सम्पन्न गर्ने अभियानमा सरकार रहेको बताए। उनले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण गर्ने घोषणा पनि गरे।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क ’अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईईको नतिजामा १३ प्रतिशतले सुधार आएको बताए।
यसै क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्नेगरी केही विरोधीले ’स्पेनमा मान्छे छाडेर आयो’ भनेर झुटा प्रचार गरेकोमा आपत्ति जनाउँदै यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।
उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई र उद्धव थापालगायतको उपस्थिति थियो।