तीनकुने घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
1.9k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राणाले राजावादी विचार बोकेकै भरमा सरकारले आफूहरूमाथि झुटा मुद्दा लगाएको टिप्पणी गरे। न्यायपालिकाले तीनकुने घटनाबारे सत्यतथ्य रूपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ।
"हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराधसहित चारवटा झुटा मुद्दा लगाइएको छ," राणाले भने, "मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दूधको दूध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ। म संसदमार्फत माग गर्न चाहन्छु तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरौँ। यस्तो घटनाको पनि छानबिन गर्दैनौँ भने हामी के को छानबिन गर्ने? र दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिलोस्।"
राणाले राज्यको कमजोर सुरक्षा संयन्त्रका कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरूलाई रिहा गर्न समेत माग गरे।