arrow

मुख्यमन्त्री बानियाँले शपथसँगै थपे एमालेका छसहित आठ मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
indra-baniya-82-4-20.jpg

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शपथ खाएका छन् । उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथ दिलाएका हुन् । 

उनलाई मंगलबारै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

त्यस्तै उनले आठ जना मन्त्री थपेका छन् । थपिएका आठै जनाले प्रदेश प्रमुख देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिए । 

थपिएका मन्त्रीहरुमा कांग्रेसबाट दुई जना तथा एमालेबाट छ जना रहेका छन् । कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ तथा एमालेका तर्फबाट मधुसूदन पौडेल, जयराम थापा, विन्दु श्रेष्ठ, डा दिनेशचन्द्र देवकोटा, किरण थापा  र भरत केसी रहेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवासँग निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले गरेको सहमति अनुसार उनको कार्यकालका शपथसमेत लिन नपाएका उनको पक्षका तीन जनालाई भने बानियाँले मन्त्री बनाएनन् । 

को हुन् बानियाँ ?

मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ साल भदौमा जन्मिएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री भएका हुन् । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति हुन् । 

विसं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए । 

विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए ।

विसं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य भएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए । 

विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए ।

विसं २०७० को दोस्रो संविधान सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरिसक्नुभएको छ ।

    विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए । 

विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उहाँ संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए । 

यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । 

रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भए । लामाले १४ मत मात्र प्राप्त गरेका थिए भने एक मत बदर भएको थियो । 

बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री भएका हुन् । 

राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ