हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् । ११० जना रहेको प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थियो ।
बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ । त्यसैगरी मत दिन्न भन्ने पक्षमा ७ मत रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (१) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका हुन् ।
सत्ता गठबन्धनका एक सांसद भने अनुपस्थित रहे । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् ।
कांग्रेसका प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उपस्थित भएनन् । वागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन् ।
त्यस्तै एमाले २७, नेकपा (माओवादी केन्द्र) २१, राप्रपा १३, नेकपा (एकीकृत समाजावादी) ७, नेपाल मजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेश सभा सदस्य रहका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै जारी गरेका थिए ।
यसअघि कांग्रेसकै मुख्यमन्त्री बहादुर सिंह लामा रहेका थिए । तर उनको कार्यकाल विवादित भएपछि कांग्रेसले संसदीय दलको नेता नै फेरेर बानियाँलाई बनाएको हो । त्योसँगै बानियाँ मुख्यमन्त्री बनेका हुन् ।
यसअघि लामा बानियाँलाई नै हराएर संसदीय दलको नेता बनेका थिए ।