परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग भन्दै भारत र चीनलाई गरायो ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
1.7k
Shares
काठमाडौँ । नेपाल सरकारले लिपुलेक नेपालको अभिन्न भूभाग भएको भन्दै भारत र चीनको ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ भन्दै तीन बुँदामा समेटेको छ ।
जसमा पहिलो बुँदामा भनिएको छ, ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।’
त्यस्तै दोस्रो बुँदामा भनिएको छ, 'नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाईसमेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ ।'
साथै अन्तिम बुँदामा परराष्ट्र मन्त्रालयले भनेको छ, 'नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ ।’
भारत–चीनबीच थप सहमति
नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनले दुईदेशीय व्यापार अघि बढाउनेबारे थप सहमति गरेका हुन् । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको भारत भ्रमणका क्रममा मंगलबार नेपालको नक्सासमेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे थप सहमति भएको हो ।
नयाँदिल्लीमा चिनियाँ विदेश मन्त्री वाङले भारतीय पक्षसँग भेट गरेपछि मंगलबार राति भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा लिपुलेक नाकाबाट व्यापार पुनः थाल्ने उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयले भने बुधबार नोट जारी गरेको छ ।
यसकै आधारमा परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।