arrow

महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार प्रयास गर्ने ताँजाकोट अध्यक्षका ज्वाइँसहित तीन पक्राउ

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ भदौ १२ बिहिबार
crime-final-everytime-use.jpg

हुम्ला । महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र बलात्कार प्रयास गरेको आरोपमा ताँजाकोट गाउँपालिका–३ मैलास्थित स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नियन्त्रणमा लिएका लिलाराज शर्मा गाउँपालिकाका अध्यक्ष लालकेश जैशीका ज्वाइँ रहेको खुलेको छ।

प्रहरीका अनुसार भदौ १० गते राति करिब ११ बजे मदिरा सेवन गरेका उनीहरूले महिला स्वास्थ्यकर्मीको कोठामा पसेर बन्धक बनाएर दुर्व्यवहार  गर्ने प्रयास गरेका थिए ।

पीडितले उक्त घटनाको विवरण आफू कार्यरत संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराएकी थिइन् । त्यसपछि सो कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई खबर गर्यो र प्रहरी टोलीले भदौ ११ गते राति तीनै जनालाई छप्रेला प्रहरी चौकीबाट नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानमा महिला स्वास्थ्यकर्मीमाथि विभिन्न प्रकारका यौनजन्य दुर्व्यवहार भएको पुष्टि भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलले बताए ।

पक्राउ परेकालाई जिल्ला सदरमुकाम सिमकोट ल्याई सोधपुछ भइरहेको छ । साथै जिल्ला अदालत हुम्लाले उनीहरूलाई थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्ने आदेश जारी गरेको छ । 

घटना सार्वजनिक भएपछि स्थानीय समुदायमा चासो र आक्रोश बढेको छ । प्रहरीले पीडितको सुरक्षा र मानसिक स्वास्थ्यका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ