ट्रक यातायात व्यवसायीको गुनासो – फरक-फरक कर दरले मारमा पर्यौँ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
863
Shares
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेललाई भेटेर बधाई ज्ञापन गरेको छ ।
महासंघको टोली अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा बागमती प्रदेश सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न पुगेको हो ।
कार्यक्रममा महासंघले यातायात मन्त्री थापासमक्ष संघीयता लागू भएपछि पनि कतिपय ट्रकका नम्बर अझै अञ्चलगत प्रणाली अनुसार रहेकाले त्यसलाई प्रदेशगत प्रणालीमा रूपान्तरण गर्न आग्रह गरेको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले जानकारी दिए ।
यसबाहेक मुख्यमन्त्री बाँनियासँग भेट गर्दै महासंघले ट्रक प्रमिट लिनका लागि प्रदेश अनुसार फरक-फरक कर दरले व्यवसायमा समस्या आएको बताएको छ ।
महासंघका अनुसार मधेश प्रदेशमा ट्रक प्रमिट लिन १० हजार रुपैयाँ तिर्नुपर्नेमा बागमती प्रदेशमा १५ हजार रुपैयाँ तिर्नुपर्ने हुँदा व्यवसायीहरू सस्तो हुने प्रदेशतर्फ आकर्षित हुने गरेको र यसले बागमती प्रदेशको राजस्वमा कमी ल्याएको सुझाव दिएको हो ।
यसबारेमा मुख्यमन्त्री बानियाँले समस्या छिट्टै समाधान गर्ने आश्वाशन दिएको महासचिव बाँनियाले बताए ।
यस्तै, महासंघले ट्रक तथा यातायात क्षेत्रसँग सम्बन्धित कतिपय कानुन संशोधन गर्नुपर्ने माग पनि राखेको छ ।
यसबारे मुख्यमन्त्री बाँनियाले विस्तृत छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।