लुम्बिनी । जेन-जी पुस्ताले गरेको आजको दोस्रो दिन बुटवलको अवस्था निकै नाजुक रह्यो । विहान करिव ११ बजेसम्म आन्दोलनकारीलाई निस्तेज पार्नेगरी तयारीमा तैनाथ भएको सुरक्षाकर्मीहरु आन्दोलनले उग्ररुप लिएपछि फिर्ता भएका थिए ।
बुटवलमा दिनभर आन्दोलनकारीहरुले नेकपा एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय पुष्पलाल स्मृति भवन सुख्खानगर, नेपाली कांग्रेस क्षेत्र न-२ पार्टी कार्यालय मैनाबगर, आन्तरिक राजस्व कार्यालय बुटवल, प्रदेश लेखा इकाई कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय माझगाउँ, बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय, उच्च अदालत बुटवल इजलास, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय चाँदबारीमा तोडफोड एवं आगजनी गरिएको छ ।
यस्तै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालको सैनामैनास्थित कलौनीमा रहेको घरमा तोडफोड, आगजनी, सैनामैना नगरप्रमुख फणिन्द्र प्रसाद शर्माको घरमा तोढफोड, नेकपा एमालेका नेता रुपन्देही क्षेत्र-५ का संघीय सांसद वासुदेव घिमिरेको तिलोत्तमा नगरपालिका वडा न-४ मा रहेको घरमा आगजनी भएको छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको भवनमा तोडफोड, बुटवलस्थित भाट भटेनी सुपर मार्केट आगजनी गरिएको छ । आन्दोलनका क्रममा कुनै मानवीय क्षती नभएपनि निजी तथा सरकारी संरचनामा ठूलो क्षति पुगेको छ ।