arrow

जेन-जी आन्दोलन, घुसपैठ, कांग्रेस र शेरबहादुर ! 

logo
राजकुमार बस्नेत, 
प्रकाशित २०८२ भदौ २५ बुधबार
rajkumar-basnet-article.jpg

नेपाली कांग्रेस लोकतन्त्र, खुला समाज, मानव अधिकार तथा वैयक्तिक अधिकार, सुशासन र निजी सम्पत्तिको पक्षपाती हो र यसैका निम्ति लडेर स्थापित भएको पार्टी हो । आठ दशक लामो संघर्षको मैदानमा कांग्रेसका नेताहरुले यसैका लागि लड्दैगर्दा राणाबाट, राजा - पंचेहरुबाट, कम्युनिस्टहरुबाट र प्रहरी प्रशासनबाट समेत कयौं पटक पिटाइ खाए, कठोर यातना तथा जेल भोगे र ज्यान गुमाएको कुरा दुनियाँका अघि छर्लङ्ग छ । 

 यसैक्रममा अदृश्य तत्वको खेलमा मुलुकको कुभलो चिताउने केही निहित स्वार्थ बोक्ने झुन्ड र व्यक्तिहरुले कलिलो उमेर समूहका साथीहरूको मोहरा बनाएर राज्य र ब्यक्तिगत सम्पत्ति ध्वस्त तुल्याउनुका साथै ब्यक्तिगत निवासमा घुसेर डाँका गरी ब्यक्ति स्वयंलाई सांघातिक आक्रमण गरेका कयौं घटनाहरु बाहिर आएका छन् । यसमा नागरिक अधिकारकै लागि आफ्नो बाल्यकाल - यौवन र सिंगो जीवन बिताएको वृद्ध उमेरका कांग्रेस सभापति शेरबहादु देउवा र उनकी श्रीमतीमाथि गरिएको हमलाको जति निन्दा गरे पनि कमी हुन्छ । उनीहरुसँग र कांग्रेस पार्टीसँग कयौं विमति हुन सक्लान् तर त्यसरी प्रस्तुत हुने छुट कसैलाई थिएन । आरोप - अपराध र सजायको पनि विधि थियो होला तर नेपालको पछिल्लो युवा पुस्ता यसरी खोक्रो होला भन्ने सायदै कसैलाई कल्पना थिएन होला ।

हाम्रा पछिल्ला युवा तथा विद्यार्थी पुस्ताको आन्दोलन र मागका पक्षमा नेपाली कांग्रेस सधैं सँगै थियो र त्यहि अनुसार आफूलाई उभ्याउने लाइन र तयारीमा थियो । त्यसका लागि कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा एवं स्वास्थ्य मन्त्री प्रदीप पौडेल लागिरहनु भएको थियो । पार्टी सभापति स्वयं देउवाले समेत सामाजिक संजाल माथीको प्रतिबन्धको निर्णय सच्याउन प्रधानमन्त्री ओलीलाई सम्पर्क गरेका थिए र नमानेपछि प्रधानमन्त्रीलाई थ्रेट सहित मनाउन त्यहि बुढो शरीरको शेर बहादुर आफैं भेट्न गएर सामाजिक संजाल माथीको प्रतिबन्ध फुकुवाको वातावरण बनाएको थियो । 

सोमबार जसरी मुलुकलाई अस्थिर र विध्वंस गराइछाड्नेहरुले कलिलो मस्तिष्कको दुरुपयोग गरि शान्तिपूर्ण आन्दोलनलाई रणमैदानमा परिणत गराए त्यसपछि कांग्रेसले आफ्नो कित्ता क्लियर गर्दै थियो ।  पार्टीका महामन्त्रीहरुले विज्ञप्तिमार्फत बोलिसकेका थिए र सिंगो पार्टीले तत्काल औपचारिक बैठक बसेर नै सरकारबाट बाहिरिने, प्रधानमन्त्रीले राजीनामा दिने, दोषी उपर कारबाही र आन्दोलनको जायज माग पूरा गराउन लागिपर्ने गरीको वातावरण बन्दैथियो । उक्त कुरा विदितै छ । 

यत्तिकैमा; हिजो दूषित मनसाय भएकाहरू जसले यो आन्दोलन चाहेका थिए उनीहरुले हिंसा फैलाउन सुरु गरिसकेका थिए, उनीहरु संयमता र संतुलन गुमाएको नाटक गर्दै पुर्वतयारीका साथ आफ्नै निवास तर्फ अघि बढिरहेका छन भन्ने कुरा मुलुकको प्रधानमन्त्री रहिसकेको र कयौं घटनाक्रम सँग मुकाविला गरेर आएको शेर बहादुर देउवालाई जानकारी नहुने कुरै थिएन । उक्त कुरा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समेत जानकारी दिए होलान र निस्केर भाग्न सुझाए होलान्, आफन्तले पनि आग्रह गरे होलान् ?! 

तर; शान्ति, नागरिक तथा मानव अधिकार र सार्वजनिक तथा निजी सम्पत्तिको रक्षाका खातिर जिवन बिताएको शेर बहादुर देउवा कतै भागेन - निस्किएन ! आफ्नै निजी निवासमै बसिरह्यो त्यो पनि परिवारका साथ ! उस्ले आन्दोलनको नाममा आएको हिंस्रक भीडलाई पर्खिरह्यो तर, कतै लुकेन । त्यो ३/४ घन्टाको बीच के कतै लुक्ने, भाग्ने, हिँड्ने, जाने उपाय र ठाउँ शेर बहादुर सँग थिएन होला त ? अनि, हल्लाखोर हरुले यसअघि भनेझैं आन्दोलन भयो भने हेलिकप्टरमा भाग्छन, बिदेश जान्छन र लुक्छन भनेको कुरा कांग्रेस र शेर बहादुरका हकमा लागु भयो त ? 

आखिर कुरा के हो भने राणाको अवशेष, राजा-पंचायतको जेल - यातना, कम्युनिस्टको पिटाइ - यातना सहेर निर्माण भएको शेर बहादुरलाई आफूले लडेर ल्याएको लोकतन्त्रमा आफ्नो नाति पुस्ताले त्यो पनि आफ्नै घरमा आएर मार्छन भने पनि मर्छु भनी स्वीकार गरेर बसेका हुन् । त्यत्रो भिडमा कोहि त होला कानुन र विधि बुझेको र पढेको युवा जसले भोलिको मुलुकको नेतृत्व गर्न सकोस्, भन्ने कुरा पनि शेर बहादुरलाई लागेको हुँदो हो ? 

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई तत्कालीन पंचायती व्यवस्थाका निरंकुश राजा र निकायहरूले मृत्युदण्ड सहित दर्जनौं मुद्दा लगाउँदा समेत मुलुक, नागरिक र लोकतन्त्रका खातिर आफ्नो ज्यानको पर्वाह नगरी निर्वासित जीवनबाट नेपाल फर्किएका बीपी कोइरालाको संगतमा हुर्किएका शेर बहादुर देउवाले समेत हिजो उनै बीपीको जन्म जयन्तीको दिन आफू माथि सांघातिक आक्रमण हुने र मारिन सक्ने समेत जानकारी हुँदाहुँदै पनि कतै गएनन्, सायद उनले बीपीलाई सम्झिए होलान् । बीपीको जन्म जयन्तीमा हिजो उनिबाट हुने यो भन्दा ठूलो कुरा सायदै होला । 

 २ दशक अघि माओवादीको आक्रमण, अपहरण र कटाई खाने पनि ज्यादा कांग्रेसी नै थिए, त्यसबेला ज्ञानेन्द्रले पनि यीनै शेर बहादुरहरुलाई जेलमा हालेर यातना दिएको हो । ०४६ अघि पंचायतले पनि यीनै नेताहरुलाई कठोर यातना दिएकै हो, त्यसक्रममा कम्युनिस्टको घेराबन्दी र सांघातिक हमलामा पनि पटकपटक यीनै शेर बहादुर देउवा परेकै हुन्, त्यसको प्रमाण माथिल्लो ओठमा लागेको चोटको खत र जिब्रो छँदैछ । अनि आज, मूर्ख लठैतहरुको सांघातिक आक्रमणमा पनि कांग्रेसी र यीनै शेर बहादुरहरु पर्नु कुनै नौलो घटना होइन । 

उता कांग्रेस महामन्त्री गगन थापा लगायतको घर खरानी बनाइएको छ, उनिहरुलाई दागा धरिएको छ । यो त के र ? हिजो तीनै निरंकुश राजाको अघि गोलि र कोठरीको पर्वाह नगरी आजको अधिकार स्थापित गराउने र मुलुकको समुन्नतिको दीर्घकालीन खाका सहित भोलिको पुस्ताको लागि पारदर्शी योगदान गरिरहेका उनै गगन थापाहरु हुन भन्ने कुराको के मतलब र ज्ञान हुँदो रहेछ र आजको लठैत ग्याङ्को पछि लाग्नेहरुलाई ? यीनिहरुबाट अराजकता र सास्ती शिवाय मुलुकले केही प्राप्त नगर्ने कुरा हिजो उनिहरुले नै प्रमाणित गरिदिए । 

हो, कांग्रेस त्यसै कांग्रेस भएको होइन अनि शेर बहादुर त्यसै शेर बहादुर भएको होइन ! जे हुन्छ डटेर सामना गर्ने - परिस्थितिबाट नभाग्ने र समाधान गर्ने कुरा कांग्रेसको मुल धर्म हो र परिचय हो । हिजोका शेर बहादुर दम्पती त्यसैको उदाहरण र साक्षी हुन् । त्यसैले हामीलाई कांग्रेसी हुनुमा गर्व छ र हिजोको शेर बहादुर प्रति गर्व छ - लाखलाख आभार छ - अझ सम्मान छ । र, भोलिको बिश्वास र भरोसा विशेषगरी गगन थापा लगायतका नेताहरु सँग छ । 

अब, फेरी आन्दोलन कै कुरा गरौँ: आखिर यो आन्दोलन कस्को थियो र के का लागि थियो त ? यत्रो विध्वंस मच्चाउने गरीको आन्दोलन र योजना के ती कलिला मस्तिष्कका विद्यार्थीहरुको मात्र थियो त ? की कोहि छन यसको पछाडी ? कुरा गम्भीर छ ! 

आदरणीय व्यक्तित्वहरु एवं साथीहरू: यो आन्दोलनको नाममा रचिएको क्रुर हिंसाको मैदानबाट कस्लाई र कस्तालाई स्थापित गराउन खोजिएको हो भन्ने कुरा आजको बाँकी रहेको सचेत पुस्ता र नागरिकहरुले बुझुन् ! 
 - हिजो निरंकुशता लादेर एकल शासन गर्नेहरुलाई हो ? दिउँसै सिंहदरबार जलाईदिन्छु भन्नेहरुलाई हो ? कैद सजाय काटीरहेकाहरुलाई विधिको धज्जि उडाएर खुलेआम हुलदंगा मच्चाइ बाहिर निकाल्ने र नागरिकको पवित्र मतबाट निर्वाचित भएकाहरु जसले उक्त मतलाई लात हानेर राजिनामा दिई प्रतिगामीहरुलाई बल पुर्‍याउनेहरुलाई हो ? या त जंगलमा बसेर मुलुकलाई हिंसाको आहालमा डुबाउनेहरुको धङधङी चाहनेहरुलाई हो ? यसको उत्तर यहि पुस्ताले चाँडै नै खोज्ने छ । जरुर खोज्ने छ । 

आन्दोलनको नाममा सबै महत्वपूर्ण सार्वजनिक सम्पत्ति र सरकारी कार्यालय जलाइनु, जेलबाट कयौं कैदीबन्दी निकालिनु, संचार गृहहरु तहसनहस पारिनु, नेपाली निजी व्यावसायिलाई उठ्नै नसक्ने गरी ध्वंस बनाइदिनु, अबको दिन कोही स्वदेशी या बिदेशी लगानी कर्ताले लगानी गर्न सोच्ने सम्मको वातावरण पनि नराखीदिनु र विशेषगरी कांग्रेस र एमालेका कार्यालय र नेताहरुको घरमाथी छानीछानी जलाइनु र मार्ने नियतले हमला गर्नु नै यो आन्दोलनको निष्कर्ष र परिचय बन्यो । यो पुरापुर योजनामा थियो भन्ने कुरा प्रष्ट नै छ - अझ खुल्दै जाला ? 

यो आन्दोलनको नाममा कांग्रेस - एमाले बाहेक रास्वपालाई र उक्त पार्टीकालाई  केही क्षति पुर्‍याइएन बरु उल्टै कारागारबाट हुलदंगा मच्चाएर रवि लामिछानेलाई निकालियो, राजातन्त्रवादीलाई पुरै जोगाइयो, नयाँ हुँ भन्दै भीड उचाल्नेहरुले नेतृत्व गरेका स्थानीय तहहरु बचे, नेपाली व्यवसायी माथि हमला गरियो तर, भारतीय मुलका व्यवसायीहरु जोगिए र समग्रमा माओवादी पार्टीका समेत नेताहरु र कार्यालयहरु जोगिएका छन । (स्मरण रहोस; यी सबैलाई पनि हमला र ध्वस्त गर्नुपर्‍थ्यो भन्ने कुरा मेरो होइन ।) तर, सोच्नुस त के यो संयोग मात्र होला र ? अँ, साँच्चै ! घण्टी - माओवादी र राजतन्त्रवादी निकटका जिम्मेवार कार्यकर्ता अराजकता फैलाउँदै र आगो झोस्दै हिँडेको दृश्य छ्यापछ्याप्ती देखिँदैछ भने आजका युवाले देवदूत मानेका वालेन्द्र साह (बालेन) को टीम (एमआरआर ग्रुप) त निर्देशक नै जस्तो देखिन्थ्यो । 

वास्तवमै यो पटक राज्यले नागरिक र नागरिक अधिकारको न रक्षा गर्न सक्यो ? न राज्यको अधिकार प्रयोग गर्न सक्यो ? न त राज्यले आफैंलाई सुरक्षित गर्न नै सक्यो ? प्रहरीले आफ्नो वृत्त, बर्दी र हतियार छोडेर हिँडे भने सेनाले त झन आफ्नै परमाधिपतीको निवास समेत जोगाउने जाँगर चलाएन । राज्य विहिनताको अवस्था नेपालको इतिहासमा सायद पहिलो पटक देखियो । 

अत: कांग्रेस सभापति शेर बहादुर देउवाको रक्ताम्य अवस्था देखेर धेरैलाई रमाइलो लागेको पनि हुनसक्छ । तर, याद रहोस् स्वयं शेर बहादुरले र हामी कांग्रेसीले लोकतन्त्र र नागरिक अधिकारका पक्षमा लागे वापत आजको लठैत झुन्डले दिएको पुरस्कारको रुपमा यस घटनालाई लिएका छौँ र इतिहासको अर्को एउटा प्रहारको सम्पत्तिका रुपमा संगालेर राख्ने छौँ । 

तर, आजको जेन-जी' लगायतको पुस्ताको लागि यो ठुलो पाठ हुनेछ र निकट भविष्यमा पश्चातापको एउटा कारण समेत हुनेछ । हिजो आक्रमणको अग्रमोर्चामा हुने पुस्ताहरुको त के उनिहरुको दरसन्तान सम्मलाई यो घटनाले नराम्रो प्रभाव पार्ने छ । हेक्का रहोस्; लोकतान्त्रिक पार्टी र त्यसका नेताहरु माथी आक्रमण गर्ने हरेकले इतिहासमा पछुताउनु परेको छ । 

 हाम्रा असली जेन-जी' पुस्ताका हकदार साथीहरुले उठाएका मुद्दाहरुमा हाम्रो समर्थन यसअघि देखि नै रहँदै आएको छ । हावा र हुण्डरीको भरमा उनिहरुलाई देखाएर निहित स्वार्थ हात पार्नेहरुले भने झैँ नेपाली जनताले ७ दशक लडेर ज्यान दिएर ल्याएको लोकतान्त्रिक अधिकार र गणतन्त्र मास्ने कर्म कदापि स्विकार्य हुनेछैन, प्रतिनिधि सभा भंग गर्ने कुरा मान्न सकिँदैन । 

त्यसैले; यही संविधान भित्रका असमानतालाई परिमार्जन गर्दै स्थिर र सबैको साझा सरकार निर्माण तथा शान्ति सहितको नेपालको पुनर्निर्माणका निम्ति राष्ट्रपतिले यहि प्रतिनिधि सभाबाट सरकार निर्माणका लागि आव्हान गरुन्, त्यसलाई सबै सुरक्षा निकाय र संवैधानिक अंगहरु तथा आम नागरिकले समेत साथ दिउन् । अनि, अहिलेका स्वार्थ समुहहरु सबै मिलेर आगामी निर्वाचनमा नागरिक मत लिएर आउन् । अन्यथा; पुनः देश अर्को भुमरीमा फस्ने कुरा निश्चित छ । फेरि, अर्को एउटा पुस्ताले अधिकारका निम्ति आफ्नो समय खेर फाल्नुपर्नेछ । आज आन्दोलन गर्ने यहि पुस्ताले नै अधिकारका निम्ति भोलिको समय व्यर्थमा फाल्नुपर्नेछ । जेन-जी' पुस्ताका प्रतिनिधि साथीहरूले यो कुरा बुझिदिउन् । 

 आदरणीय साथीहरू; अब कांग्रेसले श्रद्वेय नेता शेरबहादुर देउवालगायत शरीरले आराम खोजिसक्नु भएका नेताहरुलाई ससम्मान आराम दिएर युवा, ऊर्जा, संयम, अनुभव र चेतले खारिएका कांग्रेस महामन्त्री गगन थापा - विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतहरुको नेतृत्वमा कांग्रेसको उर्जा फर्काउने छ र मुलुकको समुन्नतिका लागि योगदान गर्नेछ । उक्त यात्रा कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा आजको जेन-जी पुस्ता मात्र होइन हिजोको र भोलिको पुस्ताको समेत सहभागितामा सँगै हुनेछ । 

 मुलुकको समुन्नति र समृद्धि नेपाली कांग्रेसबाट मात्र संभव रहेको कुरा कसैले नकार्न सक्दैन । यति लामो आठ दशकको यात्रामा होलान छिटपुट गल्तिहरु तर देश र नागरिकलाई कांग्रेसले आजसम्म धोका दिएको छैन, सुधारिएर अघि बढ्ने कुराको प्रण गर्दछौं । 
 
यो २ दिनमा सहादत प्राप्त गर्ने सबैमा श्रद्धा सुमन र श्रद्वेय सभापतिज्यू उपचारार्थ हुनुहुन्छ स्वास्थ्य अवस्था राम्रो छ भन्ने बुझेका छौँ, उपचारार्थ सबैको राम्रो होस् । पूर्णतः स्वास्थ्यलाभको कामना । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ