arrow

दलभित्रका जेन-जी भन्छन् - अब दलमा पुस्ता हस्तान्तरण हुनुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
party-gen-z.jpg

काठमाडौँ । यही भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागका सम्बन्धमा राजनीतिक दलमा आवद्ध बहुसंख्यक जेन-जीले समर्थन जनाएका छन् ।

तर आन्दोलनको दोस्रो दिनको विध्वंश र त्यसपछिका घटनाक्रमप्रति उनीहरु असन्तुष्ट छन् । आन्दोलनका नाममा देशको सम्पत्ति नष्ट गरिएको र आन्दोलनकारी मारिएकोप्रति उनीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । विध्वंश गरेकोमा सह्रानीय नभएको युवा नेताहरु बताउँछन् ।

कांग्रेस निकट नेविसंघका नेता नवीन पौडेलले जेन-जीहरुको मागप्रति सकारात्मक रहे पनि तोडफोड, गोली प्रहार र मारपिटबारे आफूहरुको आपत्ति रहेको सुनाए ।

‘आन्दोलनको शुरूवाती चरण एकदमै राम्रो थियो । देशमा भएको बेथिति, पुरानो दलहरुसँगको वितृष्णालाई स्वाभाविक मान्न सकिन्छ । भ्रष्टाचारविरुद्धको आन्दोलन सह्रानीय थियो । तर, आन्दोलनलाई सरकारबाट उचित सुरक्षा व्यवस्था नभएका कारणले जुन घटनाहरु भए त्यो निन्दनीय छ, जेन-जी आन्दोलनलाई प्रत्येक संगठनले पनि समर्थन गरेकै थियो । तर राष्ट्रिय सम्पत्ति, निजी सम्पत्तिमा आगजनी गरेर पुनः आर्थिक अवस्थालाई पछाडि धकेल्ने काम भएको छ । यसमा हाम्रो आपत्ति छ’, उनले भने ।

भ्रष्टाचारले सीमा नाघेकाले माग उठाउनु जायज भएको उनले बताए । उनले कानूनी राज्यमा संविधानको मातहतमा रहेर देशलाई कानूनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने कुरा जायज भए पनि प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान विपरित रहेको औँल्याए । उनले संविधान मिच्नु भनेको कानूनी राज्यको स्थापना नभएको भन्दै यो स्वीकार्न नसकिने बताए ।

उनले अब राजनीतिक दलभित्र रहेका जेन-जी पुस्ताहरु दलको आफ्नो आदर्श र सिद्धान्तमा बस्नुपर्ने औँल्याउँदै  संविधानभित्र नै रहेर देशलाई गतिशील र दिगो विकासतर्फ उन्मूख गराउनका लागि जनचेतना र भ्रष्टाचार विरोधी अभियान चलाउँदै समाज परिवर्तनका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उनले पहिलो महिला प्रधानमन्त्री सम्मान व्यक्त गर्दै देश अराजकतातर्फ उन्मूख भइरहेको बेलामा देशको नेतृत्व गर्नुपर्छ भनेर अडान लिएको कुरामा धन्यवाद दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर व्यवस्थालाई जोगाउनलाई सम्मान व्यक्त गरे ।

उनले प्रधानमन्त्री कार्कीले सर्वदलीय, सर्वपक्षीय बैठक आह्वान गरेर देशलाई निकास दिने बाटोतिर अगाडि बढ्नुपर्ने बताए । दलहरुले लोकतन्त्र स्थापनामा ठूलो भूमिका निर्वाह गरेकाले राजनीतिक दलभित्रका नेतृत्वकर्तालाई समन्वय गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै अगाडि बढ्न सुझाव दिए ।

नेविसंघका नेता मनमोहन भट्टलेसमेत जेन-जी आन्दोलनको समर्थक भए पनि दोस्रो दिनको घटनाप्रति सन्तुष्ट नभएको बताए । शान्तिपूर्ण रुपमा संविधानले दिएको अधिकार प्रयोग गरेर आन्दोलनमा आउनु राम्रो भए पनि विध्वंश स्वीकार्न नसकिने बताए ।

‘आन्दोलनको पहिलो दिन मेरो सहभागिता थिएन । तर विद्यार्थीलाई सरकारले गोली हान्यो त्यसमा चुप लागेर बस्न सकिएन् । शान्तिपूर्ण आन्दोलनमा सहभागि थियौँ’, उनले भने ।

तर जेन-जी पुस्ताहरु साझा मुद्दामा एकीकृत नभई विभिन्न पक्षमा विभाजित भएकोप्रति असन्तुष्टि जनाउँदै साझा नेतृत्व लिएर जेन-जीहरु अघि बढ्नुपर्ने उनले सुझाए ।

‘पुरानो परिपार्टी र अपारदर्शिता र गैर जिम्मेवारीपन  साथै भ्रष्टाचारले भरिएको संरचनामा गम्भीर त्रुटिहरू छन् । यस्तोबेला आन्दोलनले उठाएको आवाज ठिक थियो । तर नेतृत्व नहुँदा मुद्दा ओझेल पर्ने चिन्ता छ,’ उनले भने ।

यस्तै उनले प्रतिनिधिसभा विघटनको कुरामा संविधानले दिएको अधिकार बमोजिम नभएको धारणा राखे । उनले भने ‘संविधानलाई सर्वोच्चता दिने कुरामा प्रतिनिधिसभा विघटन राम्रो होइन् । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक छ । अब दलहरुमा पुस्ता हस्तान्तरण हुनुपर्छ । ४० प्रतिशतको आरक्षण युवाका लागि राख्नैपर्छ ।’

उनले अहिलेको समय गुनासो र विमति गरेर बस्ने भन्दा पनि क्याम्पसमा भएका विभिन्न संगठनले विषम् परिस्थितिमा पुनःनिर्माण लागि आफूले सकेको सहयोग गर्नुपर्ने पनि बताए ।

नेता भट्टले व्यक्तिगत रुपमा वा सतिप्रथा भएको देशमा महिलाले नेतृत्व गर्नु सकारात्मक भएको औंल्याउँदै ७२ जना मृत्यु भएकालाई शहीद घोषण गरेसँगै भदौ २३ लाई जेन-जी दिवसका रुपमा सार्वजनिक बिदा दिन आग्रह गरे । उनले घाइते भएकालाई पनि विश्वविद्यालयमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का युवा नेता पेरिसराज गिरीले पछिल्लो समय नेताहरुले गरेको अपराध, भ्रष्टाचार, विलासिता जीवन नै जेन-जी पुस्ताको आक्रोश भएको उल्लेख गर्दै आन्दोलन समयको आवश्यक्ता रहेको बताए ।

‘दुई दशकमा क्रान्ति र परिवर्तनका लागि आन्दोलन भइरहेको छ । यसको मुख्य कारण पछिल्लो समयका नेताहरुले गरेको अपराध, भ्रष्टाचार, विलासी जीवन नै जेन-जी पुस्ताले रोजेको आन्दोलन हो’, उनले भने ।

उनले जेन-जी पुस्ताको माग कतिपय जेन-जीलाई नै थाहा नभएको पनि बताए । दलीय तन्त्रबाट निर्माण भएको अख्तियार अनुसन्धान आयोगले आफ्ना नेताहरुको भ्रष्टाचारको फाइल रोक्ने भएकाले अख्तियार भन्दा स्वतन्त्र शक्तिशाली आयोग बन्यो भने मात्रै भ्रष्टाचार रोक्न सकिने स्पष्ट पारे ।

उनले भने, ‘जेन-जी पुस्ताको मागहरु के हुन् ठ्याक्कै उनीहरुलाई नै थाहा छैन । पछिल्लो समयको घट्नाक्रम हेर्दा ठ्याक्कै जेन-जीको लिडर र माग के हो त्यो बुझ्न सकिएको छैन् । जसमा भ्रष्टाचार नियन्त्रण भन्ने छ । यसबारे अख्तियार सबैलाई थाहा नै छ । दलीय तन्त्रबाट गएको अख्तियारले कतिपय फाइलहरू रोक्छ । त्यसैले अख्तियार भन्दा स्वतन्त्र शक्तिशाली आयोग बनाउन जरुरी छ ।’

उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचार रोकिने र छिटै फड्को मार्ने पनि बताए । आगामी चुनावमा पनि पुरानै दलका नेताहरु आउने सम्भावना भएकाले अहिलेको सरकारले चुनाव गरेर नयाँलाई हस्तान्तरण गर्नुको विकल्पबाहेक केही नरहेको उनले बताए । संविधान मार्नु भन्दा संसद मार्नु राम्रो भन्दै संसद विघटन राम्रो रहेको उनले बताए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता इन्द्रसिंह ठकुरीले जेन-जीले प्रथम चरणमा राखेका माग वास्तविक माग रहेको र सोही माग अनुसार आफू पनि सहभागी भएको भन्दै जुन विध्वंश मच्चाइयो त्यसमा सहमति जनाउन नसक्ने बताए ।

उनले अहिलेको अवस्थालाई नजिकबाट हेर्दा जेन-जी पुस्ताका माग खोलामा बगेर गएको समेत बताए । उनले जेन-जीले अघि सारेको माग अनुसार प्रक्रिया अगाडि नबढेको भन्दै उनले संविधानको रक्षा सबैभन्दा ठूलो कुरा हुने र संविधान विपरित संसद विघटन स्वीकार्न नसकिने बताए ।

‘संसद विघटन गर्ने कुरा भनेको जेन-जीको मागमाथि सबैभन्दा ठूलो लात हो,’ उनले भने । उनले जेन-जीमा एकता र साझा मुद्दामा एकमत हुनुपर्नेमा जोड दिए ।

ठकुरीले नयाँ पुस्ताका माग पूरा गर्नका लागि नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भएकाले पुस्तान्तरण भन्ने कुरा अनिवार्य भएको बताए । उनले पुरान पुस्ता र नयाँ पुस्ता दुवै मिलेर देशलाई विकास गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ