arrow

कर्णालीमा जेन-जी आन्दोलनले ६० भौतिक संरचना र ४५ सवारी साधनमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
karnali-download.jpg

सुर्खेत। जेन-जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनले कर्णाली प्रदेशमा ६० वटा भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति पुर्याएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको प्रारम्भिक तथ्याङ्क सङ्कलनअनुसार, प्रदर्शनकारीहरूले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका थिए।

इन्सेकका कर्णाली प्रदेश कार्यालय संयोजक नारायण सुवेदीले दिएको जानकारीअनुसार, सुर्खेतमा मात्रै २८ वटा सरकारी संरचना र ८ वटा निजी घरमा क्षति पुगेको छ। यसका साथै, ५ राजनीतिक दलका कार्यालय र ३ विभिन्न संघसंस्थाका कार्यालय गरी ४४ वटा भौतिक संरचनामा आगजनी र तोडफोड भएको थियो।

आन्दोलनको क्रममा वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको थियो। त्यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ देखि १२ सम्मका सबै वडा कार्यालयहरूमा पनि क्षति पुर्याइएको थियो।

आन्दोलनकारीले सुर्खेतमा ११ सरकारी गाडी र ८ मोटरसाइकलमा क्षति पुर्याएका थिए भने २ निजी गाडी र ५ मोटरसाइकलमा आगो लगाएका थिए। जुम्लामा पनि ६ वटा सरकारी र राजनीतिक दलका कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो। त्यहाँ ८ सरकारी गाडी र ११ मोटरसाइकलमा क्षति पुर्याइएको थियो। प्रदर्शनकारीले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेका थिए।

यद्यपि, जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुमपश्चिममा भने प्रदर्शन भए पनि सार्वजनिक र निजी सम्पत्तिमा तोडफोडका घटना नभएको इन्सेकको अनुगमनले देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ