काठमाडौँ। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाएका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीण कुलुङको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सङ्खुवासभा पुर्याइएको छ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिएअनुसार, प्रतिकूल मौसमका कारण मंगलबार शव ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो।
सिलिचोङ गाउँपालिका केन्द्र, ताम्कुमा आयोजित श्रद्धाञ्जली सभामा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए। श्रद्धाञ्जली सभापछि शव परिवारलाई बुझाइएको थियो।
अध्यक्ष मेवाहाङले प्रवीणको अन्त्येष्टि सिलिचोङ–३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार गरिने बताए। प्रवीणको निधनले सिलिचोङसहित सङ्खुवासभामा शोक छाएको छ। स्थानीयहरूले घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्।