नेपालको राष्ट्रिय फुटबल टिम सम्हाल्ने इच्छा छ : प्रदीप हुमागाईं

प्रकाशित मिति : २०७३ माघ १८ मंगलबार
काठमाडौं । तीन वटा विषयमा डिग्री हासिल गरेर चौथो विषयमा पनि डिग्री गर्दैैगर्दा छाडेका नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लवका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने इच्छा व्यक्त गरेका छन् । हालै अमेरिकामा व्यवसायीक प्रशिक्षण दिइरहेका प्रदीपले ए लाइसेन्स कोर्स लिइसकेपछि नेपाली टिम नै सम्हाल्ने इच्छा रहेको बताएका हुन् । 
 
इङलिश प्रिमियर क्लव वेष्टह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी कि स्टोन एथलेटिकमा साढे दुई वर्षदेखि प्रशिक्षण दिंदै आएका प्रदीपले मोन्टो गेनरी काउन्टी अन्तर्गतका चार विद्यालयमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएका छन् । उनै प्रदीपसंग हाम्रा कुराले लिएको विशेष अन्तर्वार्ताका क्रममा अमेरिकी फुटबल, नेपाली फुटबल र भोलिको स्थितिका बारेमा खुलेर कुरा गरेका छन् । उक्त अन्तर्वार्ताको मुख्य अंश –
 
नेपालको क्लवको प्रशिक्षकले अमेरिकामा प्रशिक्षण दिन कसरी सम्भव भयो ? 
–सबैभन्दा ठूलो मेरो ईच्छाशक्ति हो । मैले फुटबलबारे धेरै पढें । मेरो क्षमता भनेको पहिलो पटक कुनै सम्हाल्दा नै थ्रीस्टारलाई राष्ट्रिय लिग च्याम्पियन बनाउनु हो । त्यसपछि मैले अमेरिकामा गएर सीपीआर एइडी कार्स गरें । नेपालमा यो कोर्स गर्ने चलनै छैन । यो एक किसिमको मेडिकल कोर्स हो । टिचिङ लाइसेन्स लिएपछिमात्र सरकारी विद्यालयमा पढाउन पाइने भनेजस्तै यो कोर्स गरेपछिमात्र व्यवसायिक बन्न पाइन्छ । त्यसरी नै मैले पाएँ । 
 
अमेरिकामा दिइने प्रशिक्षणको विशेषता के हो ?
अमेरिकामा सबैभन्दा बढी त समयको निकै ख्याल गरिन्छ । खेलाडी, प्रशिक्षकदेखि अभिभावकसमेत निकै सतर्क हुन्छन् । अभिभावक प्रत्यक्ष सहभागी हुन्छन् । प्रशिक्षकले दिएको टिप्सलाई खेलाडीले तत्काल ग्रहण गर्छन् । त्यहाँ प्राविधिक ज्ञान बढी दिइन्छ । टेक्निकल ट्रेनिङ बढी हुन्छ । रिफ्रेस बढी हुन्छ । त्यसैगरी त्यहाँ खेलाडीको क्षमता अध्ययन गरिन्छ । कुन खेलाडीमा के क्षमता छ त्यसमै बढी जोड दिइन्छ । हरेक खेलाडीको व्यक्तिगत क्षमता निखार्न खुवै मेहनत गरिन्छ । नेपालमा खेल कसरी जित्ने भन्नेमात्र सिकाइन्छ । 
 
कि स्टोन एथलेटिकले कति खेलाडीलाई प्रशिक्षण दिन्छ ? 
झण्डै २७ सयको हाराहारीमा खेलाडीहरु छन् । २३ वर्ष मुनीसम्मका खेलाडीहरु त्यहाँ हुन्छन् । यु–१८ सम्मका खेलाडीले प्रत्यक्ष अभिभावकको निगरानीमा प्रशिक्षण लिन्छन् । क्लवको तालिकाअनुसारमात्र प्रशिक्षण हुन्छ । 
 
विद्यालयको प्रशिक्षण कस्तो हो ? 
विद्यालयमा व्यवसायिक खेलाडी हुन्नन् । उनीहरुलाई हवीका रुपमा खेलाइन्छ । हरेक विद्यालयमा एक पटकमा २०–२५ जनालाई सिकाइन्छ । एक पटकमा ४५ मिनेट सिकाइन्छ जसले गर्दा उनीहरुमा वौद्धिक विकाससमेत वृद्धि हुन्छ । 
 
कसरी वौद्धिक विकास ? 
यसबारेमा मैले अध्ययन नै गरेको थिएँ । पीएचडी गर्ने भनेर मैले त्यसको विषय नै यही बनाएको थिएँ । नेपालमै रहँदा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने लक्ष्य बनाएको थिएँ । काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिंदा मैले बुझें पढेका विद्यार्थीले राम्रो प्रशिक्षण गर्न सक्छन् भन्ने कुरा । अनि विषय नै ‘नपढ्नेले भन्दा पढ्नेले फुटबल राम्रो खेल्न सक्छ’ थियो । त्यसको हाइफोथेसिस सकिएको थियो । तर मैले पूरा गर्न सकिन । प्राडा कृष्ण महर्जन मेरो गाइड हुनुहुन्थ्यो । अध्ययनका क्रममा मैले थाहा पाएँ जुन जुन विद्यार्थीले कक्षामा उत्कृष्ट अंक हासिल गरेका हुन्छन् उनीहरु नै राम्रो खेल्दथे ।
 
स्नातकोत्तर कुन विषयमा गर्नुभयो ? 
मैले त तीन विषयमा स्नातकोत्तर गरेको छु । स्वास्थ्य, समाजशास्त्र र शारीरिक शिक्षा । राजनीतिक शास्त्रमा पढ्दै थिएँ त्यो पूरा गर्न भने सकिन । 
 
थ्रीस्टारलाई च्याम्पियन बनाएपछि अमेरिकामा जानुभयो । किन ? 
मेरो लक्ष्य भनेको फुटबलमा प्रत्यक्ष सहभागी हुनु हो । मेरो फुटबलको लगाबले नै मैले सम्भवतः पहिलो नेपाली हुँला जसले विदेशमा यसरी व्यवसायिक प्रशिक्षण दिइरहेको छ । मैले केही हदसम्म आफ्नो लक्ष्यलाई पछ्याइरहेको छु । मलाई त अमेरिकाको वातावरण नेपालमा हुने हो भने एक मिनेट पनि अमेरिका बस्ने मन छैन । मलाई नेपालमै नेपालीलाई प्रशिक्षण दिने मन छ । 
 
के बिग्रियो त ? 
बिग्रिएको छैन वातावरण बन्दैछ । बी लाइसेन्स छ । अब ए लाइसेन्स लिने तयारीमा छु । यो लाइसेन्स जहाँ लिए पनि हुन्छ । तर अमेरिकामा लिंदा एक वर्ष अतिरिक्त कोर्स गर्नुपर्ने भएकाले नेपालमा सजिलो हुन्छ । विश्वमा जहाँ लिए पनि कोर्स २९ दिनको हुने हो । त्यसैले नेपालमै आएर लिने सोच छ । 
 
अनि त्यसपछि ? 
त्यसपछि म प्रशिक्षकमा पूर्ण हुन्छु अनि पाएका खण्डमा नेपाली राष्ट्रिय टिम सम्हाल्ने छु । किनकि मैले साढे दुई वर्षदेखि अमेरिकी एकेडेमी सम्हाल्दा धेरै अनुभव बटुलिसकेको छु । यसले मलाई राम्रो मद्धत गरेको छ । 
 
म्याच फिक्सिङ प्रकरणपछि नेपाली फुटबल बदलियो भनिन्छ नि ? 
त्यो देखिएकोमात्र हो । म्याच फिक्सिङ सामान्य खेलाडीले गर्न सम्भव छैन । यसको जालो लामो हुनुपर्छ । नेतृत्वले साथ नदिएसम्म फिक्सिङ गर्न पनि सकिदैन । यतिसम्म चाहीं हो कि अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाले छोडेपछि सुधार भएको छ । त्यसको कारण उनी फिफाको कार्वाहीमा पर्नु पनि हो । त्यसले अन्य पदाधिकारीलाई सचेतसमेत गराएको छ । खेलाडीहरु पनि प्हरीले हासिल गरेको सफलतापछि झस्किएका छन् । चेतना आएको छ । केही डर पनि देखिएको छ । 
 
गणेश थापा बाहिरिएपछि एन्फा सुध्रिएकै हो त त्यसो भए ? 
सुध्रिएजस्तो लाग्छ । गणेश थापा फिफाको कार्वाहीमा परेर बाहिरिएपछि अरुले त्यो गल्ती गर्लान् जस्तो लाग्दैन । अर्को कुरा दुई पक्षबीच निर्वाचन भएर नेतृत्व चुनिँदा पनि त्यसले चुनौती थपेको छ । एकतन्त्री हालीमुहालीको अन्त्य गरेको छ । प्रतिस्पर्धा हुँदा पक्कै पनि राम्रो हुन्छ । नरेन्द्र श्रेष्ठ गणेश थापाकै टिममा बसेर लामो समय काम गरेकाले अनुभव भएको व्यक्ति । त्यसैगरी श्रेष्ठले अन्तरिम कार्यकाल पनि निभाएकाले एन्फा सम्हाल्न सक्ने व्यक्ति नै भएजस्तो लाग्छ ।  
 
अहिले नेपाली फुटबल कहाँ छ ? 
पहिले जहाँ थियो त्यहीं छ । एक दुई वटा उपाधि जित्दैमा ठूलो फड्को मार्ने हुँदै होइन । बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप जित्नु भनेको फ्यानलाई खुसी पार्ने मात्र हो । यसले राष्ट्रको फुटबलको विकास हुन सक्दैन । 
 
कहाँ भयो भने फड्को मारेको मानिन्छ ? 
नेपालका लागि त साफ च्याम्पियनसिप नै जित्नुपर्छ । नेपालको आधार दक्षिण एसिया हो । त्यो जित्नुप-यो । 
 
के भयो भने विकास हुन्छ ? 
विकास हुन त जगदेखि नै राम्रो हुनुपर्छ । यदि त्यसो गर्ने हो भने एसियाली क्षेत्रमा राम्रो हुन्छ । स्थानीय खेल खेलेर व्यस्त भए पनि त्यसले राष्ट्रिय टोलीलाई असर पार्छ । राष्ट्रिय लिग नभएकै दुई वर्ष नाघिसकेको छ । कम्तीमा वर्षैपिच्छे राष्ट्रिय लिग हुनुप¥यो नि । रेडिकल चेन्ज गर्ने भनेको होइन तर खेलाडीले अधिकभन्दा अधिक खेल खेल्न पाउनु पर्छ । उनीहरुको सेवा सुविधा पनि बढाउनु पर्छ । प्रशिक्षकको पनि सेवा बढ्नु पर्छ । मैले थ्रीस्टारमा छँदा प्रशिक्षकको रुपमा ‘खाली पेटमा कसैले खेल्न सक्दैन’ भनेको थिएँ । त्यसलाई गलत रुपले पनि बुझियो । अहिले पनि राष्ट्रिय टिमका खेलाडीले नियमित पैसा पाएजस्तो लाग्दैन । सबैभन्दा ठूलो नीति हो । हाम्रो फुटबल नीति के हो भन्ने एन्फा पदाधिकारीले बुझ्नुपर्छ । त्यसो भए ढिलो चाँडो नेपालले लक्ष्य पछ्याउन सक्नेछ । 
 
नयाँ