एक सय २० वर्षको कोइराला निवास खरानी, युवा भन्छन् - विचार कसैले मार्न सक्दैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.2k
Shares
मोरङ । जेन-जी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा एक सय २० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए ।
सोही निवासमा टेकेर राजनीतिको शुरुआत गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरू निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ ।
नेपाल विद्यार्थी संघका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्, ‘भौतिक संरचना मरेको हो । तर लोकतन्त्रप्रति विश्वास, संघर्षको विचार र जनताको अधिकारप्रतिको चेतना कहिल्यै मर्दैन ।’
यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्त्र र समानताको आन्दोलनको जीवित प्रतिक थियो ।
नेतृ विजयता अधिकारी भन्छिन्, ‘आँखा अगाडि हाम्रो धरोहर खरानी भयो । प्रहरी र दमकल ढिलो आए । तर यो विचारलाई कसैले पनि खरानी बनाउन सक्दैन । त्यस्तै, पूर्वउपमेयर इन्दिरा कार्कीको मन भारी छ, ‘मन्दिर शरहको स्थल गुम्यो । तर हामीसँग अझै इतिहासको आत्मा बाँकी छ ।’
पूरानो संरचना पूर्ण रूपमा नष्ट भए पनि पछिल्लो भाग केही अंश बाँकी छ । यहाँ बस्दै आएका कांग्रेस नेता डा. शेखर कोइरालाले पुनर्निर्माण थालिसकेका छन् । तर, अझ ठूलो पुनर्निर्माण भने विश्वास र विचारलाई जोगाइराख्नुमा छ ।