दैलेख। दैलेख जिल्ला अस्पतालमा शय्या (बेड) को अभावका कारण बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता देखिएको छ। बिरामीको चाप अत्यधिक बढेपछि अस्पतालले यो समस्या भोगिरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको बताए। जीर्ण संरचनामा ६५ वटा शय्या सञ्चालनमा रहे पनि यो सङ्ख्या अपुग हुँदा बिरामीलाई म्याट र कुर्सीमा राखेर उपचार गर्नुपरेको उनको भनाइ छ।
अस्पतालको समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा नयाँ भवन निर्माण भइरहेको छ, तर चार वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहे पनि निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको आरोप छ।
निर्माण कम्पनीका सञ्चालक तारा शाहले भने रुख कटान र कानुनी अल्झनसहितका कारणले काममा ढिलाइ भएको बताएका छन्। अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले भने गत वर्ष जेठभित्रै भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको र पटक-पटक म्याद थप गर्न नसकिने बताए।