कारागारबाट भागेका सात हजार सात सयलाई फर्काइयो, नख्खुबाट भागेका सहकारी ठग पक्राउ
भागेका १४ हजार ५४९ मध्ये अझै छ हजार ८१३ बाहिरै, समाजमा त्रास बढ्दो, फरार हुनेमा हत्यारादेखि बलात्कारीसम्म
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर सुरक्षाकर्मीको कमजोरीको फाइदा उठाउँदै भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी भागेका छ हजार ८१३ कैदीबन्दी अझै फरार रहेका छन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार भागेका १४ हजार ५४९ मध्ये बुधबार साँझसम्म सात हजार ७३५ कैदीबन्दी मात्र कारागार फर्केका छन् ।
कारागार र सुधारगृह गरी ३० हजार ६४१ कैदीबन्दी रहेकामा जेन–जी आन्दोलनको मौका पारेर १४ हजार ५४९ कैदीबन्दी भागेका थिए ।
जसमा ९६४ जना सुधारगृह तर्फका हुन् । अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी सात हजार ७३५ जना हुन् । जसमा फिर्ता आउनेमा ३४१ जना सुधारगृह तर्फका हुन् । सुधार गृहमा रहेका १४ सय २२ जनामध्ये ९६४ जना भागेका थिए ।
त्यस्तै कारागारमा २९ हजार २१९ जना रहेकामा १३ हजार ५८५ जना भागेका थिए । त्यसमध्ये सात हजार ३९४ जनामात्र फिर्ता आएका छन् ।
२८ कारागार र ९ सुधार गृहबाट उनीहरु भागेका थिए ।
कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भएको थियो । जसमा रामेछापमा ३, धादिङमा २ तथा नौबस्ता बाल सुधारका ५ जना हुन् ।
एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए ।
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको भए पनि पछिल्ला केही दिनदेखि त्यो क्रम घटेको छ ।
सीमाबाट समेत केहीलाई पक्राउ गरिएको छ । धेरैजसो भारतीय अपराधीहरु भारत भागेका छन् । उनीहरु नफर्किएको स्रोत बताउँछ ।
प्रहरीले भने यसको खोजी जारी राखेको छ । जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्खु कारागारबाट तामझामका साथ कार्यकर्ता र परिवारसँग बाहिरिएसँगै उनको देखासिकी गरेर देशभर कारागार छाड्ने माहोल बढेको थियो ।
भागेकामा जघन्य अपराध हत्या, बलात्कार लगायतका मुद्दाका जन्मकैदका अपराधीसमेत हुन् । त्यस्ता अपराधी छुटेपछि समाजमा भने झन् त्रास फैलेको छ ।
सुरक्षाकर्मीको लापरबाहीका कारण उनीहरु भाग्न सफल भएका थिए । सुरक्षाकर्मीले अहिलेसम्म सुरक्षाको अनुभूति गराउन सकेको छैन ।
यसैबीच भदौ २४ गते नख्खु कारागारबाट भागेका मध्ये एक शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक केदार शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले बुधबार ललिपतपुर महानगरपालिका २ सानेपाबाट पक्राउ गरी नख्खुमा बुझाएको छ ।