जेन-जी आन्दोलनबाट भएको क्षतिबारे महानगर र प्रहरीको दाबी फरक-फरक
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
1.2k
Shares
वीरगञ्ज । जेन-जी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा तोडफोड, आगजनी तथा लुटपाटबाट भएको क्षतिको विवरणबारे विवाद देखिएको छ ।
भदौं २४ गते महानगरपालिकामा भएको क्षतिको विषयमा कार्यालय र प्रहरीको दाबी फरक-फरक छ ।
महानगरपालिकाले एक सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने मात्र १३ करोड बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार, भदौं २४ गते अपराह्न महानगरपालिकामा प्रवेश गरेका आन्दोलनकारी समूहले कार्यालयभित्र रहेका सवारीसाधन तथा भवनमा आगजनी र लुटपाट गर्दा करिब १३ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, प्रहरीले प्रतिवेदन तयार गर्दा कार्यालयसँग कुनै सहकार्य नगरेकाले तथ्याङ्कमा फरक आएको हो ।
उनले कार्यालयमा रहेका १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र ४ वटा भवनमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए ।
आन्दोलनकारीले लगाएको आगलागीमा तीनवटा भवन पूर्णरूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति भएको अधिकृत कर्णले जानकारी दिए ।
उनका अनुसार सम्पत्तिको विस्तृत विवरण कार्यालयसँगै रहेको भए पनि प्रहरी प्रतिवेदनमा समन्वयको अभावले आकडा फरक परेको हो ।
भदौं २४ गते भएको आगलागीमा १२ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी प्रतिवेदनअनुसार, ती कार्यालयमा जम्मा १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।