arrow

आमालाई चिठ्ठी 

आमा यसपालि दशैँ  नमान्नु  है !  

logo
लाओस राई,  
प्रकाशित २०८२ असोज १५ बुधबार
laos-rai-82-6-15.jpg

जय नेपाल ! आमा तिमी कस्ती छौ, के गर्दै छौ भनेर सोध्न मैले समय पनि मिलाउन सकेको छैन । म आजकल सारै व्यस्त छु । त्यसैले तिमीसँग बोल्न समय मिलाउन सकेको छैन । आफ्नो सन्तानसँग बोल्न नपाउँदा तिमी सारै अताल्लिएकी छौ होउली ।

तँलाई एकै छिन देखेन भने आत्तिने बानी छ है भन्थिन् काकीले । पहिले एक पटक  काकीले आमाको मन जाँच्न कहिलेकाहिँ मलाई लुकाउँदा । सन्तान हरायो भन्दै मलाई खोज्न आमा गाउँतिर निस्किन्थिन् । आमा र मेरो लुकी खेल एक प्रकारले भन्ने हो भने सन्तान आमाको अनौठो खेल थियो । प्राणी जगतहरूमध्ये त्यही भावनात्मक विशिष्टताले गर्दा नै मानिसलाई विश्व ब्रह्माण्डको उत्कृष्ट जातिको हो भनेका होला ।      

माथिको प्रसङ्ग मातृत्व, बालसुलभ ममतापूर्ण मष्तिस्कबाट उत्पन्न भावनात्मक सम्बन्धको उदाहरणमात्र थियो । त्यस्तै  हराएको सन्तान  खोज्ने आमाहरूको अवस्था भदौ २३ गते भयो । बिहान स्कुल जाँदा हात हल्लाउँदै निस्किएको सन्तान दिउँसो जेन–जी युवाहरूले आह्वान गरेको सुशासन र भ्रष्टाचाररहित राष्ट्र बनाउने उद्धेश्यले आन्दोलनमा सहभागी हुन नयाँ बानेश्वर पुगेका थिए । 

र, त्यहीँ गोलीले ढले । टाउको र छातीमा गोली लागेर ढलेका ती स्कूले बालकले निडरताका साथ विघटित सत्तालाई मात्र चुनौती दिएनन्, उनीहरूले आजको दिनसम्म यो शताब्दीको विश्वकै सबैभन्दा उत्कृष्ट र साहसिक विरोध प्रदर्शन गरेर वीर सपुतका रूपमा आफूलाई चिनाएर गए । 

फेरि त्यस्तो हिम्मत जो कोहीमा हुँदैन पनि ! र त्यस्तो प्राणको आहुति दिने जोश हिम्मत र साहस हुँदैन पनि । त्यसैले उनीहरू अजर, अमर र महान् छन् ।

 म ढलेको तिमीले देख्यौ होउली होइन आमा ? मैले त्यस्तो कुनै ठूलो ध्वंस हुने काम गरेको थिइन । संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको विरोध गर्न पाउने आधिकार प्रयोग गर्दै निर्धारित कार्यक्रम गर्दै संसद भवन अगाडि के पुगेको थिएँ  एक्कासी ठूलो आवाजमा बन्दुक पड्कन शुरू गर्यो ।      

त्यसैले म जहाँ ढलेँ, त्यहीँ ढलेकै स्थानबाट आमा तिमीलाई एउटा चिठ्ठी लेख्दैछु ।   

मेरी आमा ! तिमीले मलाई जन्म दिएको पनि १७ वर्ष २३ दिन भइसकेको रहेछ, मैले ख्यालै गरिन । ख्याल रहोस् पनि कसरी, हामीसँग आफ्नै कामले गर्दा जन्म दिन गन्ने फुर्सद नमिलेर होला बिर्सेको, फेरि त्यस्तो गर्नु पनि हुँदैन नि !  १७ वर्ष २३ दिन आमासँगै रहँदा पनि मैले आमा तिमी कहिले जन्मेकी हौँ ? भनी सोध्न नै पाइन । 

अहिले पो याद आयो, ढिलो भयो है आमा ! मैले सुनेको १७ वर्ष २३ दिनसम्म त तिमी धेरै पाकी थियौ  रे । हिमालयको उत्पत्तिसँगै स्वतन्त्र र सार्र्वभौम थियो भन्ने पनि सुनेको थिएँ । साथै तिमीलाई मन पराउने धेरै थिए भन्ने पनि । तिमीले टाढाकाहरूलाई नजिक आउनै दिइनौ रे । तिम्रो लड्न सक्ने क्षमतासँग उनीहरू टिक्न सकेनन् रे !

मैले तिम्रो बारेमा तिमीलाई नै सुनाउँदा तिमीलाई बोर लाग्ला, दिक्क नमान्नु ल आमा ! आमा म यो चिठ्ठीमा तिम्रो बारेमा भन्दा पनि मेरै बारेमा धेरै लेख्छु है । चिठ्ठी त्यति लामो र बृहत् विषयहरूको खिचडीको जस्तो हुँदैन । १७ वर्ष २३ दिनसम्म तिमीले थाहा नपाएका अर्कै विषयको बारेमा बताउँदै छु ल ! आमा यो पत्र कसैलाई नदेखाई पढ््नु ल ! जुनबेला तिमीलाई मेरो सम्झना आउँछ भदौ २३ कै दिनको अवस्था सम्झेर पढ्नु ल !

कुरा शुरू गर्छु ल आमा ! थाहा छ सानोमा किन तिमीलाई छलि–छलि म गाउँ– बस्तीहरूमा डुल्न जान्थे ? गाउँलेहरूसँग घुलमिल हुन कि मन पराउँथे ? किनकि गाउँको वास्तविकता बुझ्न । मानिस मानिस बीचको सामाजिक सम्बन्ध र उनीहरूको आर्थिक अवस्था, दुःख, पीडा, रीसा, आक्रोश, षोषण, दमन, अन्याय, अत्याचार, भोक आदि मानव निर्मित अप्ठेराहरू हेर्न । 

त्यसैगरी सामान्य रोग लाग्दासमेत उपचार गर्न नसकेर मृतुको मुखमा जान परेको मान्छेहरूको दुखपिडा बुझ्न, जीवनका आरोह अवरोह हेर्न । त्यसबेला मेरो लागि त्यो गाउँ संसारको नाम चलेको विश्वविद्यालय जस्तै थियो । तर ती सबै कुरीति, कुप्रथाका साथै  असमानताका कारण पुरानो राज्य व्यवस्था थियो भन्ने मैले गाउँ घुमाइमा थाहा पाइसकेको थिएँ । 

ती कुप्रथा, असमानता र भ्रष्टाचारलाई नष्ट गर्न म र मेरो पुस्ता उठ्नु पर्दछ भन्ने भित्रभित्रै अठोट गरिसकेको थिएँ । मेरो मनमा उठेको बेथितिप्रतिको विद्रोहको ज्वालाहरू अध्ययनको लागि काठमाडौँ आउँदा तिमीलाई भन्न खोजेको थिएँ । तर ती सबै विद्रोहको ज्वालाहरू बताउँदा आमा तिमीलाई दुःख हुन्छ भन्ने सोचेर त्यसबेला मैले भनिन । 

आज समय जुरेको छ त्यसैले लेख्दैछु है आमा ! सहर आएपछि गाउँमा  असमानता र  शोषणको राज गरेजस्तै नातावाद, भ्रष्टाचार कमिशन, रजगज  मौलाएको देख्दा छक्क परेँ । केही नयाँ काम गर्न खोज्यो कि विभिन्न अवरोध, हरेक ठाउँमा कि कामको मान्छे हुनु पर्ने कि त दामको मान्छे हुनुपर्ने ।

दशैँको बेला नून भुटन (तेल) सकिएर पानीसँग मात्र ढिडो खाने जनताको अवस्था देख्दा अचम्म परेको परेको थिएँ । सहरमा भ्रष्टाचारीहरू प्रतिस्पर्धा गरेको देख्दा चकित परेँ । बाजेले सहरबाट ढाकरमा नून, भुटन र नयाँ नाना (लुगा) ल्याएए लगाएको कुरा सुनाउँदा पनि त्यस्तो पनि हुन्थ्यो र भन्ने लाग्थ्यो । तर वास्तविकता एउटै रहेछ । गाउँमा शोषण, दमन । सहरमा भ्रष्टाचार र कालोबजारी निकै आक्रामक रहेछ, डरै लाग्ने ! उनीहरूको रजगज ।                          

जब तिमीले हिँड्न सिकायौ त्यसबेला ब्रम्हाण्ड हिँडेर नै घुम्छु जस्तो हन्थ्यो । जब बोल्न र काम गर्न सक्ने भएँ त्यसपछि तिम्रो समृद्ध र शान्त समाज स्थापनाको सपना पूरा गर्न अगाडि बढ्दै थिएँ, संघर्ष गर्दै थिएँ, तर ढलेँ ! मसँगै अरू सयौँ साथीहरू ढलेका छन् । उनीहरू पनि मसँगै छन् तर आमा मैले धेरै काम गर्न त सकिन । 

१७ वर्षको उमेरमा जति गर्न सकेँ गरेँ । दुःख नमान है ! तिम्रा अरू पनि सन्तानहरू छन् बाँकी काम तिनीहरूले गर्ला । यदि उनीहरूले तिम्रो सपना भुल्न खोजे भने तिमीले जगाउ ल ! म पनि बेलाण्बेलामा झक्झकाइरहन्छु । म आमाबाट अलिपर मात्र भएको छु । धेरै पर होइन नजिकै–नजिकै छु । 

आमा म तिम्रो आसपास नै छु, तिमीले ठूलो स्वरले कराएको सुनिरहेको छु, तिमीले मूर्खहरूले चलाएको गोलीले प्वाल परेको मेरो टाउको टाल्न खोज्दै टाउको सुम्सुमाएको मैले महसुस गरिरहेको छु । म तिम्रो सपना, बिपना तिमीले चाल्ने प्रत्येक पाइला पाइला साथै छु त ! किन मेरो टाउको समाएर बिलौना गरेको ?  बिलौना गर्न छोड ।  

आमा तिम्ले त्यसरी बिलौना गर्यौ भने तिम्रा अरू सन्तानहरू मुर्जाउने छन्, निराश हुने छन्, कमजोर हुने छन् । त्यसैले तिमी नरोऊ । मलाई खोजेर बिलौना नगर ! पछाडि  हेर त ! अगाडि हेर त चारै दिशातिर हेर त ! तिम्रा कति सन्तानहरू तिमीलाई हेर्दैछन् । तिम्रा उद्धेश्य पूरा गर्न संघर्षरत छन् ।

अनि एउटा कुरा तिमीलाई भन्नै बिर्सिएँ आमा ! मसँग जीवन बिताउने प्रतिज्ञा गर्ने प्यारी अहिले पृथिवीको उत्तरी गोलार्धको सम्पन्न राष्ट्रमा संघर्ष गर्दै छिन् । तर  म ढलेको  सबै कुरा प्यारीलाई भन्नै भ्याइन । जब उनले मलाई खोज्छिन्  ऊ त क्रान्ति भयो र तिमीले पनि क्रान्तिको रूप लिनु भनी भन्नु ल ! आमा । सम्झाउ ल ! किनकि उनी पनि विद्रोह, संघर्ष र क्रान्तिकै विद्यार्थी हुन् नि ! उनले बुझ्छिन् ।

२०६३  सालका  जवान  योद्धाहरूले संघर्ष र  बलिदान गरेर तिम्रो सपनाको समाज र राष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र १० वर्ष पुग्न नपाउँदै सत्य युगमा दैत्यहरूले स्वर्ग कब्जा गरे जस्तै कब्जा गरेर फोहर, दुर्गन्धित र कलुसित गरे । आधुनिक युगमा त्यस्तो समाज र राष्ट्रलाई भ्रष्ट, अनिमियतता र दण्डहिनताको राज भएको राष्ट्र भन्ने गर्दछ ।                   

म ढलेको एक महिना हुन लागिसक्यो । अब त मलाई नखोज ल ! अहिले त पुरानो सत्ता ढलेर नागरिकको सरकार बनेको पनि तेस्रो हप्ता चल्दैछ । नयाँ सरकारले गरेका प्रत्येक कामहरू नजिकबाट हेर्नु, कुनै गलत काम गर्यो भने तिमीले खबरदारी गर्नु । यदि तिमीले भनेको यो सरकारले पनि टेरेन भने तिम्रा सन्तानहरूलाई भन्नु !  तिम्रो सन्तानले सरकारलई गलत गर्न दिने छैनन् । 

फेरि गणतन्त्र, संघीयता र लोकतन्त्र ल्याउने पार्टीहरूसँग पनि छलफल चलाउँदै गर्नु, उनीहरू हाम्रा दुस्मन होइनन् । उनीहरूले आफू केन्द्रित हुँदा गलत गरेका हुन् । उनीहरूलाई सुधार्ने काम पनि तिम्रो हो । यदि तिमीले भनेको मानेनन् भने तिम्रा सन्तानहरूलाई भन्नु । किनकि तिमी हामीलाई यो ठाउँमा बोल्न सक्ने पनि  ती पार्टीको प्रजातान्त्रिक विचार र सिद्धान्तले गर्दा नै हो । थाहा छ नि ! तिमीलाई तिम्रा बाजेले नून खान १० दिन ढाकार बोकेर हिँडेको । जनता ढाकार बोक्ने राजा लण्न्डनको लड्डु खाने व्यवस्थामा बोल्ल खोज्दा तिम्रा बाजे पुस्तालाई पाता फर्काएर गोली ठोकेको, झुण्ड्याएको । हो, त्यसैले अरुले जस्तो इतिहास बिर्सनु हुन्न ।

यो पत्र लेख्दै गर्दा मसँगै ढेलाला ७५ जना सँगै एकैठाउँबाट नागरिक सरकार, तिमी र तीन करोड जनतालाई हेरिरहेका छौँ । आमा तिमी, मसँगै छु, ३ करोड जनताको मनमा छु । चिन्ता नगर्नु दशैँ नमान्नु ! नयाँ कुरा भयो भने अर्को चिठ्ठीमा लेखौँला । 

उही तिम्रो सन्तान
स्थानः नयाँ बानेश्वर, संसद भवन अगाडिको सडक ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ