arrow

सात सय ५० ग्रामको नवजात शिशु बेवारिसे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
abajat-sishu.jpg

पर्सा । हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित ‘हाम्रो घर बालगृह’ को गेट बाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।

उपमहानगरपालिकाकी महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ । 

शिशुको तौल सात सय ५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उनले बताइन् ।

शिशुलाई शुरूआती उपचारका लागि हेटौँडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन् ।

बालगृहको वार्डेनले गेटबाहिर शिशु फेला परेपछि तत्काल सम्बन्धित निकायलाई खबर गरेका थिए ।

त्यसपछि महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’ को संयुक्त पहलमा शिशुलाई अस्पताल लगिएको हो ।

शिशु फेला पर्दा उसले लगाएका लुगा तथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । 

साथै, शिशुको आमा वा आफन्तका रूपमा कुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ