जेन-जी आन्दोलन
अंग्रेजी शब्द जेन जी भनेको जेनेरेसन जेड पुस्तालाई बुझाउने शब्द हो । अमेरिकनहरू अंग्रेजी वर्णमालाको जेड वर्णलाई जी भनेर उच्चारण गर्ने हुनाले जेनेरेसन जेडलाई छोटकरीमा जेनजी भनिएको हो। सन् १९९७ देखि २०१०/१२ सम्ममा जन्मेको पुस्तालाई जेनजी भनिन्छ।यो पुस्ता इन्टरनेट र डिजिटल प्रविधिको पहुँचमा हुर्के बढेको पुस्ता हो। यो पुस्तालाई जुमर्स पुस्ता पनि भन्ने गरिन्छ ।
ग्रेगोरियन पात्रो अनुसार जन्म वर्षको आधारमा पुस्ताको वर्गीकरण गरिएको पाइन्छ।लस्ट जेनेरेसन (सन् १८८३-१९००),ग्रेटेस्ट जेनेरेसन(१९०१-१९२७),साइलेन्ट जेनेरेसन (१९२८-१९४५), बेबी बुमर्स (१९४६-१९६४), जेनेरेसन एक्स (१९६५-१९८०), जेनेरेसन वाइ अर्थात मिलेनियल्स(१९८१-१९९६),जेनेरेसन जेड अर्थात जेनजी(१९९६-२०१०/२०१२), जेनेरेसन अल्फा (२०१२-२०२४) र जेनेरेसन बिटा (२०२५-२०३९) भनी पुस्ताको वर्गीकरण गरिएको छ। जेनजी पुस्ता भनेको अहिलेको नवीन युवा पुस्ता हो।विश्वमा यो पुस्ता करिब २० प्रतिशत रहेको छ भनिन्छ।नेपालमा २०७८ सालको जनगणना अनुसार करिब २९ प्रतिशत जेनजीको संख्या रहेको छ।
पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशहरूमा बढ्दै गएको भ्रष्टाचार,असमानता,बेरोजगारी,अन्यायका विरुद्धमा जेनजी पुस्ता प्रदर्शन,आन्दोलन र विद्रोहमा उत्रेका छन् । जेन-जीको आन्दोलन श्रीलंका, बंगलादेश, नेपाल, अल्जेरिया, केन्या, सर्बिया, मोरक्को, मालागासी, पेरु, इन्डोनेसिया, फिलिपिन्स, भारत आदि देशहरूमा फैलिएको छ । जेन-जीहरूले पारदर्शिता, न्याय र भ्रष्टाचारको अन्त्यको लागि पहिले डिजिटल अनि फिजिकल रुपमा आन्दोलन/विद्रोह गरिरहेका छन् ।
अहिलेको डिजिटल विश्वमा एउटा देशमा देखिने आन्दोलन वा प्रदर्शनको प्रभाव तुरुन्त अर्को देशमा परिहाल्ने हुनाले विश्वभरि जेनजीहरू विभिन्न मागहरू राखी आन्दोलनमा उत्रेका हुन्। यो विश्वभरि फैलिएको आन्दोलनले नेपाललाई पनि छोयो र नेपालमा गत भदौ २३ र २४ गतेको आन्दोलनले धेरै ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु पर्यो भने करिब दुईतिहाई संख्याबाट बनेको प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकार गर्ल्यामगुर्लुम ढल्यो र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा नयाँ अन्तरिम सरकार निर्माण भएको छ।
नेपाल लामो समयदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचारको दलदलमा फसिरहेको जेनजीहरूलाई जानकारी नै थियो । लोकतान्त्रिक व्यवस्थामा पनि सत्तामा पुगेका राजनीति दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले जनताहरूले सुशासन,समानता र न्याय पाउन नसकेको कुरालाई जेनजीहरूले समेत भोगिरहेका थिए।केही सीमित राजनीतिक दलका सीमित नेताले राज्य संयन्त्रलाई वर्षैाँसम्म बन्धक बनाउँदा देशले गुणात्मक र परिमाणात्मक परिवर्तन पाउन सकेन।शहीदले बगाएको रगतको टीका लगाएर सत्तामा पुग्ने अनि तिनै शहीदलाई बिर्सिने परिपाटीले देशले सुशासन र न्याय प्राप्त गर्न सकेन।
समाजवादको खोल ओढेका तथाकथित राजनीतिक दलहरूले सिद्धान्त,आस्था र विचारलाई पोलेर खाँदा देशले बारम्बार ठूल्ठूला क्षति बेहोर्नु परिरहेको छ । राजनीतिक दलहरूमा इमान्दारिता,जवाफदेहीपन र कर्तव्यबोध नहुँदा देश अस्थिरताको खाडलमा फसिरहेको छ। पुराना दलहरू आफू भ्रष्टाचारी बन्ने अनि जनताका अगाडि देशीविदेशी शक्तिलाई दोष लगाएर नेपाललाई केवल राजनीतिक प्रयोगशाला बनाइरहेका छन् । चरम भ्रष्टाचारले देश गरिब हुँदै जाने तर नेता र तिनका परिवारहरू धनी हुँदै जाने परिस्थिति रह्यो । यसलाई जेनजीहरूले टुलुटुलु हेर्न सकेनन् अनि अतिका विरुद्ध भदौ २३ गते विद्रोहमा निस्किए ।
जेन-जी विद्रोह/आन्दोलनमा थुप्रै किसिममा अकल्पनीय र अपूरणीय क्षतिहरू भए ।ठूलो मानवीय क्षतिका साथै निजी र सरकारी सम्पदा र भवनहरू आगजनी भएका छन् । यो आन्दोलनका बारेमा अहिले अनेक किसिमका आकलन र आशंका गर्न थालिएका छन् । धेरैले दृश्य वा अदृश्य बाहिरी शक्तिद्वारा निर्देशित र परिचालित भनिरहेका पनि छन् । अहिले जेसुकै भनेपनि देश आन्तरिक रुपमा कमजोर हुनुको कारणले नै बाहिरी वा भित्री शक्तिहरू खेलिरहेका हुन्।आन्दोलनमा योजनागत वा घुसपैठ के कसरी यति धेरै विध्वंस भयो, छानबिन आयोगले सत्यतथ्य पत्ता लगाउने छ । सरकारद्वारा गठित छानबिन आयोगले बुझाउने प्रतिवेदनलाई सरकारले परम्परित तरिकाजस्तै दराजमा नथन्काओस् ।
कतिपय आन्दोलनहरू भनेजस्तो र योजना गरेजस्तो पक्कै हुँदैनन् तर आन्दोलनको नाममा घुसपैठ गरी निजी वा सार्वजनिक सम्पत्तिको क्षति गराउनेलाई कानुन अनुसार हदैसम्मको कार्बाही भने गरिनुपर्छ । विश्वका विभिन्न आन्दोलन वा विद्रोहका घटनाहरूलाई हेर्दा पनि यति छोटो समयमा यति ठूलो क्षति भएको सायद विश्वमै यो पहिलो घटना हुनुपर्छ । नेपाली जनताको वर्षौँदेखिको उत्तेजना र आक्रोशलाई सरकार र राजनीतिक दलहरूले समेत नजरअन्दाज गर्दा जेन-जीहरू सलाईका काटी बनेका हुन् भन्ने कुरा घामजस्तै छर्लङ्ग छ।यो जेनजीहरूको असंगठित विद्रोह भए पनि यस आन्दोलनमा जनताको मौन समर्थन थियो ।
सरकार गैरजिम्मेवार र मदमत्त बन्दा निहत्था धेरै कलिला बालबालिकाहरूले ज्यान गुमाउनु परेको छ।यति ठूलो जनधनको क्षति हुँदा समेत तत्कालीन सरकार सम्हालेका दल र नेतृत्वहरूले अझै आफ्नो कमजोरी स्विकार्न सकेका छैनन्।उनीहरूमा अझैपनि त्यो पुरानो अहंकार र दम्भ यथावत नै देखिन्छ।उनीहरू अझैपनि यति धेरै शहीदहरूको त्यो बलिदानलाई अवमूल्यन गर्न खोज्दैछन्।अब पुराना दलहरूले आफ्नो अस्तित्व जोगाउने नै हो भने आफ्ना सम्पूर्ण गल्ती र कमजोरीलाई स्विकार्दै जनतासँग माफ मागेर नयाँ तरिकाले लोकतन्त्रको मैदानमा आउनुपर्छ,नत्र तिनीहरूलाई इतिहासका पानामा मात्र सीमित हुनलाई कसैले रोक्न सक्दैन।
नेपालमा राणा शासन विरुद्धको आन्दोलन पछि अहिलेसम्म आउँदा थुप्रै किसिमका जनआन्दोलन र विद्रोहहरू भए।२०३६ को आन्दोलन,२०४६ को जनआन्दोलन,माओवादी सशस्त्र युद्ध,२०६२/०६३ को जनआन्दोलन,मधेस आन्दोलन र २०८२ को जेनजी आन्दोलन आदिमा धेरैले सहादत प्राप्त गरेका छन्। शहीदहरू कहिले शासन व्यवस्थाको परिवर्तनको सहादत भने कहिले शासन प्रणालीको परिवर्तनको लागि सहादत भए।ती शहीदहरूले बगाएको रगतको परिणामबाट जस्तोसुकै शासन व्यवस्था र प्रणालीहरू परिवर्तन भएपनि जनताले गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था प्राप्त हुँदा समेत वास्तविक लोकतान्त्रिक व्यवस्थाको अनूभूति गर्न नसक्दा देशले पटकपटक ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु परिरहेको छ।
भर्खरै २०८२ साल भदौ २३ र २४ गते नवीन पुस्ताले नेतृत्व गरेको भ्रष्टाचारको अन्त्य र सुशासन माग गर्दा धेरै योद्धाहरूले अर्को रगतको खोलो बगाउनु पर्ने अवस्था आयो।विश्वमा नेपाल भनेको केवल सुशासन,स्वतन्त्रता र न्यायका लागि पटकपटक रगतको खोला नै बगाउनु पर्ने देश भनेर चिनिने अवस्थामा पुगेकोछ।२०४६ पछि नै पनि कति धेरै शहीदहरू भए। नेपालमा मर्नु र मार्नु भनेको केवल सामान्य खेल जस्तो बनिरहेको छ।शहीदको मूल्य भनेको केवल लाखमा गणना गर्न सकिने होइन। मृत्युवरण गरेको शहीदको परिवारलाई राज्यले केही निश्चित नगद दिएर मात्र उसको त्याग र योगदानको मूल्य तिर्न सकिँदैन।शहीद भनेको राष्ट्रको सम्पदा र पहिचान हो।शहीदहरू अमूल्य र अमर छन्।
शहीदको सपना
नेपाली भाषामा प्रचलित यो शहीद शब्द अरबी भाषाबाट आएको हो।अरबी भाषामा शहीदको अर्थ साक्षी भन्ने हुन्छ।इस्लामिक धर्मको सन्दर्भमा अल्लाहको ९९ नामहरू मध्ये एक अल-शहीद पनि हो।अरबी भाषामा आफ्नो विश्वास वा न्यायको रक्षाका लागि मृत्युवरण गर्ने व्यक्तिलाई शहीद भनिन्छ।यो शब्दलाई मुस्लिम बहुल क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले आफ्नो नामसँगै जोडेर प्रयोग गरेका पनि हुन्छन् । शहीदलाई अंग्रेजीमा मार्टर/मार्टिर (Martyr) भनिन्छ।
शहीद भन्ने निकै गर्विलो,ओझिलो र उच्च सम्मानयुक्त शब्द हो।नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा आफ्नो देश,संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिको निम्ति बलिदान भएर लोकहितको लागि अमर व्यक्ति भनी परिभाषा गरेको छ।प्राध्यापक गोपाल शिवाकोटीद्वारा लिखित राजनीतिक शब्दकोशमा आफ्नो देश,संस्कृति र अस्तित्वको संरक्षण र स्वतन्त्रताको प्राप्तिको निम्ति मानवहित र सिद्धान्तको लागि प्रगति र विकासको लागि बलिदानी दिएर लोकहितमा लागेको व्यक्तिलाई शहीद भनिन्छ भनिएको छ।सामान्यत:कुनै पनि व्यक्तिले आफ्ना सम्पूर्ण निजी चाहनालाई त्यागेर देश र जनताको लागि निस्वार्थ प्राण त्याग गर्दछ भने त्यसलाई शहीद भनिन्छ। शहीदहरू सामान्य मानिसभन्दा धेरै उच्च महान व्यक्ति हुन्।
शहीदले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको स्वतन्त्रता,समानता,न्याय,शान्ति,सुशासन आदिका लागि सहादत प्राप्त गरेका हुन्छन्।देशको लागि बलिदान दिने व्यक्ति नै शहीद हुन्।शहीद भनेका देशका अस्तित्व र इतिहास हुन्।शहीदहरू जस्तोसुकै विषम परिस्थितिमा पनि मर्न डराउँदैनन्।जो देश र जनताका लागि हाँसीहाँसी मर्न तयार भयो त्यही नै शहीद हो।
नेपालमा विसं.१९९७ सालपछि शहीद शब्दको प्रयोग अलि बढी व्यापक भएको पाइन्छ।१९९७ साल माघ १० देखि १५ गतेसम्म राणा शासन विरुद्ध आवाज उठाउने,प्रजातन्त्र र मानव स्वतन्त्रताका लागि संगठनको सूत्रपात र शंखनाद गर्ने शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई ज्यान सजाय दिँदै झुन्ड्याई गोली हानेर हत्या गरिएको थियोे।यही स्वतन्त्रताको आन्दोलनको परिणामस्वरुप १९०३ सालमा शुरु भएको निरङ्कुश जहाँनिया राणा शासन १०४ वर्षपछि २००७ सालमा अन्त्य भएको पनि थियोे।राणा शासनका विरुद्धमा निस्वार्थ भावनाले मृत्युवरण गरेका ती चार जना सपूतलाई शहीद भनेर पहिलो पटक औपचारिक रुपमा भन्न थालिएको थियोे।
नेपालको प्रथम शहीद भने लखन थापा हुन्।विस.१८९१ मा गोरखामा जन्मिएका लखन थापालाई राणाहरूको विरुद्ध जनस्तरबाट विद्रोहको नेतृत्व गरेको भनेर १९३३ सालको फागुन २ गते गोरखाकै हालको शहीद लखन गाउँपालिका वडा न. ७ काहुले भङ्गारमा निर्मित विद्रोही किल्ला परिसर भित्रको रुखमा झुण्डाएर मृत्युदण्ड दिइएको थियोे।नेपाल सरकारले लखन थापालाई २०७२ साल असोज ३ गते नेपालको प्रथम शहीद भनी घोषणा गरेको थियो । अहिले नेपाल सरकार गृह मन्त्रालयमा रहेको तथ्यांक अनुसार करिब १५ हजार शहीद भनेर घोषणा गरिएको छ।नेपाल सरकारले वास्तविक शहीद कसलाई भन्ने हो भन्ने कुराको मर्म,भावना,सम्मान र गरिमालाई नबुझेर लहड,दबाब र भनसुनमा जो पायो त्यहीलाई शहीद भनेर घोषणा गरेको पनि देखिन्छ।
नेपाल सरकारले पछिल्लो समयमा त आन्दोलनका भरमा झैझगडा,दुर्घटना,लुटपाट,भागदौड,प्राकृतिक विपत्तिबाट मृत्यु भएकालाई समेत शहीद भन्दै लाखौं पैसा बाँडेको पनि देखिन्छ।सरकारको यस्तो किसिमको रवैया र लोकरिझ्याँइले वास्तविक शहीदमाथि भने अपमान भएको देखिन्छ।शहीद कस्तालाई भन्ने बारेमा नेपाल सरकारले पटकपटक आयोग पनि बनाएको थियो तर ती आयोगहरूले दिएको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्न सकेको छैन।
शहीद जस्तो राष्ट्रिय भावना बोकेको,वीर,गरिमायुक्त र सम्मानित व्यक्तिलाई यसरी बेढङ्ग र मनपरि तरिकाले प्रयोग गर्दा वास्तविक शहीदहरूको देशप्रतिको निस्वार्थ त्याग,समर्पण र योगदानको अवमूल्यन हुन्छ।सरकार परिवर्तनसँगै जो पायो त्यसलाई आफ्नो मान्छे वा आफ्नो दलको समर्थकका आधारमा शहीद घोषणा गर्दै शहीदकै अपमान हुने गरी प्रसाद बाँडेजस्तै गरी सरकारको ढुकुटीबाट पैसा बाड्ने काम अत्यन्तै गलत देखिन्छ।सबैले शहीदको सपना,तागत,बलिदान,त्याग,साहस,निडरता र समर्पणलाई सम्मान गर्नुपर्छ।
अबको निकास
नेपाल यतिबेला सङ्क्रमणको अवस्थामा छ।देश सामाजिक र आर्थिक दृष्टिकोणले दु:खमा छ।जस्तोसुकै विषम परिस्थिति भएपनि उठ्नुको विकल्प छैन।शोकलाई शक्तिमा रुपान्तरण गर्नु पर्नेछ।हाम्रो देश बाहिरबाट कसैले आएर बनाइदिने होइन।देश हामीले नै बनाउने हो।विश्वमा सबैभन्दा राम्रो र गुणस्तरीय शासन व्यवस्था भनेको लोकतन्त्र नै मानिन्छ।लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र नै हो।फेरिपनि दल विहीन लोकतन्त्रको कल्पना गर्न सकिँदैन।
पक्कै पनि जनताका काम गर्न सके दल बाँच्छ्न नसके सकिन्छन् । नेपाली जनताहरू अझैपनि नेपाली काङ्ग्रेस,एमाले वा माओवादी नभए के होला भन्नु पर्दैन।परिवर्तित समयलाई स्विकार्दै नयाँ दललाई समर्थन गर्दा नै पनि आकाश नै खस्ने र जमिननै धसिने हो कि झै गरी डराउनु पर्दैन । नेपाली जनताले पुराना दल र नेतालाई देवता बनाउँदा पनि आजको परिस्थिति सिर्जना भएको हो भन्ने कुरालाई स्विकार्नु पर्छ।जुन दल वा व्यक्तिले जनताको काम गर्छ उसैलाई मत दिनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन नै भएको हुँदा जनताको काम गर्न नसक्नेलाई निर्वाचनकै माध्यमबाट सजाय दिनुपर्छ ।
पुराना शक्तिहरू अझैपनि आफ्नो गल्तीलाई नस्विकारी भदौ २४ को घटनालाई देशीविदेशी शक्ति भनिरहेका छन्।देश आन्तरिक रुपमा बलियो हुन नसक्दा पश्चिम,उत्तर र दक्षिणका शक्तिहरूले खेलाउन र खेल्न खोज्नु पनि अस्वाभाविक होइन। राष्ट्रियताको भावना विपरीत गएर कसैले कुनै खास वस्त्र धारण गरी देशमा विषम परिस्थिति सिर्जना गर्नको लागि स्वदेशी वा विदेशी शक्तिको गोटी बन्न खोजेका हुन् भने ढिलोचाडो तिनीहरूले पनि कर्मको फल भोग्नु नै पर्नेछ।
लोकतन्त्रमा कसैले आफूलाई विशेष मानी पर्दाभित्रबाट राजनीति गर्न खोज्छ भने त्यो पक्कै टिकाउ हुनेछैन।देश विषम परिस्थिति भएको बेलामा धमिलो पानीमा माछा मार्ने धेरैको प्रयत्न हुनसक्छ,यस्तोबेला जनताहरू भने नै निकै चलाख हुनुपर्छ। भदौ २४ को दिनलाई बिर्सेर अहिले सहज परिस्थितिमा संसद र संविधानका धारा केलाउन खोज्नु बेकार हो। पहिले देश त्यसपछि मात्र संविधान हुन्छ।देश राज्य संयन्त्र नै नभएको अवस्थाबाट पनि बच्यो भन्ने कुरालाई उपलब्धि मान्नुपर्छ।देशलाई नेतृत्व विहीन बनाएर हेलिकप्टरबाट भाग्नेले अहिले सहज परिस्थितिमा आएर हा र हु भन्नुको कुनै अर्थ नै छैन ।
देशलाई सहज निकास दिने अबको विकल्प भनेको सुशासन कायम गरी निर्वाचन नै गराउनु हो।नेपाली मतदाताले पुरानै तरिकाले पुरानैलाई नै रोजियो भने परिणाम पुरानै नै जस्तै आउनेछ भन्ने कुरालाई निकै गम्भीरतापूर्वक मनन गरी सचेत र सतर्कतापूर्वक फागुन २१ मा मतदान गर्नुपर्छ।केहीले अहिलेको संविधानमा भएको निर्वाचन प्रणालीलाई अहिले नै हटाउनु पर्छ भन्ने मत पनि छ तर धेरै बाटाहरू बिराएर हिँड्दा गन्तव्यमा नपुगिने अवस्था हुनाले संविधान संशोधनको लागि यो निर्वाचनपछिको संसदलाई कुर्नैपर्ने नै देखिन्छ ।
अब यस्ता जनप्रतिनिधि चुनिनुपर्छ कि संविधानमा रहेका निर्वाचन प्रणाली र संघीयता लगायतका सवालमा जेनजीका विचारलाई सम्बोधन गर्न सकुन् । वर्तमान अन्तरिम सरकारले पनि विगतका कुनैपनि घटनाको राजनीतिक प्रतिशोध नसाँची पुराना र नयाँ सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी हुने वातावरण जतिसक्दो छिटो तयार गर्नुपर्छ।देशलाई निर्वाचन मार्फत निकास दिन नसक्ने हो भने देश झन अस्थिरतातिर धकेलिने र अर्को ठूलो क्षति बेहोर्नु पर्ने हुनसक्छ।
अब पनि यस्ता आन्दोलन र क्षतिहरू देशले बेहोर्न सक्दैन।यी कुरामा आम नेपाली नागरिकहरू,राजनीति दलहरू र नेपाल सरकार निकै गम्भीर र संवेदनशील बन्नुपर्छ। अब नयाँ नेपाल बनाउन धेरै ढिलो गरिनु हुन्न।जेनजी आन्दोलनमा शहीदले बगाएको त्यो रगतको खोलालाई पुनः अपमान नगरी उनीहरूले देखेको त्यो नयाँ नेपालको सपनालाई अब जतिसक्दो छिटो साकार पारौँ। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)